पोखरा १५, पुष
नेपालको पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै नेपाल पर्यटन वोर्डले पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदलाई र माउण्ट कैलाश रिसोर्टलाई सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका संचालक नरेश भट्टराईलाई काठमाण्डौंमा सम्मान गर्नु भएको हो ।
पोखरा सहित समग्र नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै परिषद सम्मान गरेको हो । उक्त सम्मानले आफुहरुलाई थप हौसला मिलेको परिषदका अध्यक्ष श्रेष्ठले बताउनु भयो । पर्यटन बोर्डले परिषदलाई गरेको सम्मान समग्र पोखरालाई सम्मान गरेको उनले बताउनु भयो ।
रिसोर्टका संचालक भट्टराइले पोखरा क्षेत्रलाई प्रतिनिधित्व गर्दै परिषद र आफ्नो रिसोर्टलाई स्तरिय सेवा दिएको भन्दै सम्मान गर्नुले आफुहरुलाई यस पेशामा लाग्न थप हौसला मिलेको बताउनु भयो ।
मन्त्री किराँतीले कार्यक्रममा बोल्दै हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गर्नुभयो । उहाँले अब नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको दाबी गर्नु भयो ।