फुटबलर गुरुङको स्मृतिमा ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन

-


     पोखरा क्लिक     
     पौष १० गते २०८० मा प्रकाशित


पोखरा १०, पुष

नेपालका पूर्व राष्ट्रिय खेलाडी गंगाबहादुर गुरुङको स्मृतिमा उनको परिवारले पोखरा म्याराथनको ह्विलचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन् । तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र फुटबल टिमका कप्तान तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य समेत रहेका स्व। गुरुङका छोरा देवान गुरुङले आगामी पाँच वर्षसम्म दुई विधामा प्रथम पुरस्कार प्रायोजन गरेका हुन ।

आफ्ना बुबा खेलाडीसँगै सामाजिक व्यक्तित्व रहेको र आफुहरुलाई समेत सामाजिक कार्यमा संलग्न हुन बारम्बार प्रेरित गरेको सुनाउँदै मञ्चसँग जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे । मंगलबार मञ्चको कार्यालयमा मञ्चका पदाधिकारी र स्व। गुरुङका छोरा देवान गुरुङबिचमा पाँच वर्षका लागि पुरस्कार प्रायोजन सम्झौता भएको हो । देवानले आफुलाई अपांगता भएका व्यक्तिलाई सहयोग गर्न मन पर्ने बताउँदै उनीहरुमा शाहस ल्याउनका लागि बुबाको नाममा सहयोग गर्न लागेको सुनाए ।
‘बुबालाई हामीले मात्र नभई यो संस्थाले समेत सम्झि राखेको पाउँदै खुसी छु । यो संस्थाले राम्रो गर्नुभएको रहेछ । म पनि खेल प्रति चासो राख्ने गर्दछु र मलाई अपांगता भएका व्यक्तिहरुलाई सहयोग गन निकै मन पर्छ’ उनले भने, ‘नसक्नेहरु पनि रमाइलो गरोस् भन्ने चाहान्छु । मेरो लक्ष्य बुबाको नाममा केही गर्छु भन्नेछ र म पाँच वर्षका लागि ह्विचियर र दृष्टिविहिन दौडको प्रथम पुरस्कार दिन चाहान्छु ।’ उनले मञ्चको आजिवन सदस्य समेत लिएका छन् । देवान क्योकुसिन कान कराते खेलाडी समेत हुन् ।
मञ्चका अध्यक्ष हरिपराजुलीले अग्रज खेलाडीहरुले स्थापना गरेको संस्थाले उचाइ छुदैँगर्दा स्व। गंगा गुरुङको समेत योगदान रहेको सुनाए । उनले आजिवन सदस्यहरुका परिवारलाई समेत मञ्चले जोड्ने चाहाना रहेको र थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्व। गुरुङको भिजन र खेल तथा संस्थाप्रतिको योगदानको कदर गर्दै उनको स्मृतिमा पुरस्कार प्रायोजन गरेकोमा धन्यवाद दिए । मञ्चका निवर्तमान अध्यक्ष तथा सफल पोखरा म्याराथनका अन्तर्राष्ट्रिय समन्वय संयोजक तेज गुरुङले संस्थाको बारेमा जानकारी दिदैँ संस्था बनाउने अग्रजका परिवारहरु यसबाट टाढा रहन नसक्ने बताए । उनले संस्था पूर्व खेलाडीहरुको साझा घर भएकाले यसको प्रतिष्ठासँग सबै जोडिने सुनाए । मञ्चका द्धितीय उपाध्यक्ष खेम बहादुर गुरुङ र संस्थाका आजिवन सदस्य कमल गुरुङको समेत उपस्थिति रहेको थियो । मञ्चले फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्दैछ । म्याराथनमा १२ वटा इभेन्टहरु हुनेछन् ।