नेपालगञ्जमा जाउँ है पोखरा अभियान, नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडान सहित स्तरीय बस सेवा संचालन गर्न जोड

-


     पोखरा क्लिक     
     पौष १ गते २०८० मा प्रकाशित


दीननाथ बराल
नेपालगञ्ज १, पुष

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको जाउँ है पोखरा अभियान अन्र्तगत आइतबार नेपालगञ्जका पर्यटन व्यावसायीहरुसंग छलफल भएको छ । । वर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले उक्त कार्यक्रममा माग गर्नु भएको छ ।

साथै नेपालगञ्ज पोखरा सिधा हवाई उडानलाई दैनिक उडान गर्न व्यवसायीहरुले माग गर्नु भएको छ । सो क्षेत्रमा हाल हप्तामा तीन वटा मात्र हवाई उडान हुदै आएको अबस्थामा अब यसलाई दैनिक उडान गर्न सके सिमावर्ती क्षेत्रमा आएका भारतीय पर्यटक सहित नेपालगञ्ज क्षेत्रका पर्यटकलाई पोखरा र पोखरामा आएका पर्यटकलाई नेपालगन्जमा पठाउन सकिने व्यवसायीहरुले बताउनु भएको थियो । नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले रुपैडिया नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकले झण्झट बेहोर्नु परेको गुनासो गर्नु भएको थियो । पर्यटकका लागि झण्झट रहित यात्रा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सीमा क्षेत्रमा एक ठाँउमा चेकजाँच भइसकेपछि अन्य धेरै ठाँउमा फरक निकायले चेकजाँचकै नाममा दःुख दिन नहुने उहाँले बताउनु भयो ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटकमैत्री वातावरण सीमावर्ती क्षेत्रमा दिनसके त्यसको सकारात्मक सन्देश सिंगो भारत र अन्य देशमा पनि पुग्ने दाबी गर्नु भयो । नेपालगञ्ज र पोखरा बीचको उडान थप्नुपर्नेमा उहाँले माग गर्नु भयो । पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड व्यवसायीसंग मिलेर पर्यटन प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको बताउनु भयो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशले सीमावर्ती क्षेत्रमा सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने आफुहरुले अपेक्षा गरेको उहाँको भनाई थियो ।

होटल व्यवसायीय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले पोखराका पर्यटन व्यवसायीबाट अन्य स्थानका व्यवसायीले समेत धेरै कुरा सिक्नुपर्नेमा जोड दिनु भयो । अब छिट्टै जाउँ है नेपालगञ्ज अभियान लिएर पोखरा लगायतका विभिन्न सहर पुग्नुपर्ने उहाँको भनाई थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकका लागि गण्डकी प्रदेशमा सहज वातावरण बनाउन आफूहरुले पहल गर्दै आएको बताउनु भयो । नेपालगञ्जबाट दैनिकरुपमा पोखरा र पोखराबाट नेपालगञ्ज उडान अनिवार्य रहेकोमा जोड दिदै स्तरिय बस सेवा समेत आवश्यक भएको उहाँले जोड दिनु भयो । पोखरामा बाघ हेर्न चाहने पर्यटकका लागि बर्दिया पठाउने गरेको उहाँको भनाई थियो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओलीले पोखरा सहर आँफैमा प्राकृतिक श्रोत साधनले धनि भएकोले नेपालगञ्ज आइसकेपछि नेपालगञ्ज रोजाइमा पार्ने गरी कार्यक्रम गर्न आग्रह गर्नु भयो । सीमामा कडाई गर्ने तर अन्यत्र दुःख दिन नहुनेमा उनको भनाई थियो । होटल सघं पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाउँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरुले चलाएका अभियानले पोखरा क्षेत्रको आन्त्रिक पर्यटनमा बृद्धि भएको दाबी गर्नु भयो ।

शुक्रबार देखि सुरु भएको उक्त अयिभान अन्र्तगत विभिन्न कार्यक्रम सहित भैरहवा, नेपालगन्ज, धनगढी हुदैं टोलीले महेन्द्रनगरसम्म पुगेर विभिन्न कार्यक्रम गर्दै छ । साथै टोलीले अगेंजी नयाँ बषको अवसरमा पोखरामा आयोजना हुने २५ औं सडक महोत्सवको समेत निमन्त्रण गरिएको छ । पुष १३ देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको संघका सचिव पार्वती पाण्डेले बताउनु भयो ।