दीननाथ बराल
पोखरा, २० मंसिर
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भोलि (विहिबार) देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । पोखराको प्रर्दशनी केन्द्रमा आउदो पुस १ गतेसम्म संचालन हुने उक्त मेलाको अन्तिम तयारी पूरा भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताउनु भयो ।
मेलामा बंगलादेश र पाकिस्तानबाट समेत व्यवसायीक स्टल राखिने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो । उक्त मेलामा बंगलादेश र पाकिस्तानबाट समेत करिब ७ वटा स्टल रहने भएको उहाँले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघको समन्वयमा पहिलो पटक विदेशबाट कटनका कपडा देखि इलेक्ट्रिक लगायतका सामानहरुको व्यवसायीक स्टलहरु मेलामा प्रर्दशनी तथा बिक्रिको लागि राखिने भएको अध्यक्ष प्रजापतीले बताउनु भयो । यस बर्षको मेलामा २ सय ५० व्यवसायीक स्टलहरु रहने भएका छन्। डोम भित्र ५४, अटो तर्फ ५०, अन्य १ सय ४६ वटा स्टलहरु रहेको उहाँको दाबी छ ।
विहिबार उक्त मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । मेला उद्घाटन हुनु पूर्व सन्ध्यामा संघको परिसरबाट पोखरामा प्रभातफेरी आयोजना गरिने भएको छ । उक्त प्रभातफेरीमा सहभागी टिमहरुलाई उत्कृष्टताका आधारमा पुरस्कारको समेत व्यबस्था गरिएको छ ।
बुधबार स्वास्थ्यका केही स्टल सहित मेलाका स्टल बुकिङ पुरा भएकोे मेलाका स्टल बुकिङ संयोजक टिकाराम सुवेदीले बताउनु भयो । मेलामा औधोगिक, कृषि, हस्तकला, रेष्टुरेण्ट, सेवा मुलक, उद्यमशिल लगायतका स्टल बुकिङ भएको उहाँले जनाउनु भयो । गण्डकी प्रदेश बाहिरका करिब १५ प्रतिशत जसो विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय प्रबद्र्धन गर्न मेलामा सहभागि हुन लागेको उहाँले बताउनु भयो ।
संघका वाणिज्य उपाध्यक्ष एवं मेलाका स्टल व्यबस्थापन समितिका संयोजक समेत रहनु भएका उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण गर्न कार्य पूरा भएको बताउनु भयो । यसपाली उक्त मेलामा प्रबेश शुल्कको १० रुपैया भूकम्प प्रभावितहरुको लागि प्रदान गरिने भएको छ भने बिद्यार्थीबाट उठेको रकम मध्य ५ रुपैया जाजरकोट भूकम्प प्रावितहरुको लागि सहयोग गरिने भएको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बताउनु भयो ।
‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित भएको संघले जनाएको छ । मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलावा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिने भएको छ । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्धेश्य भएको अध्यक्ष प्रजापतीले बताउनु भयो ।
संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गर्न करिब ८० लाख खर्च हुने बताउनु भयो । उक्त मेलाबाट ९० लाख आम्दानी गरी १० लाख बचत गर्ने लक्ष्य राखिएको उहाँले जनाउनु भयो। मेलामा महिलाहरुलाई इच्छा अनुसारको तालिम उपलब्ध गराइने भएको संघले जनाएको छ । मेलाको अवसरमा केही हस्तकलाका सिलाई वुनाई, गुडिया वनाउने लगायतका तालिम उपलब्ध गराइने भएको छ भने अन्य तालिम आवश्यक भएकाहरुको फारम संकलन गरी बर्ष भरीमा कार्यक्रम मिलायर तालिम उपलब्ध गराइने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो ।
संघले पोखरा महोत्सव २०५२, औधोगीक मेला २०४२ सालबाट नेपालमैपहिलो पटक मेला महोत्सवको सुरुवात गरेको संघले दाबी गरेको छ । पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउस अन्तर्गतका लक्ष्मी हुण्डाइ, समृद्धि स्टिल्स र सुजल फुड्सको मुख्य प्रायोजनमा तथा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गरेका छन्। यसैगरी मुख्य सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, याक ब्रेविड प्रालि, यती डिष्टिलरी प्रालि रहेको संघले जनाएको छ ।