दीननाथ बराल
पोखरा १८ मंसिर,
क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिका क्षेत्रमा यस बर्षका मेला र महोत्सव सुरु हुदै छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा उद्योग वाणिज्य संघ देखि विभिन्न क्लब, रेवान पोखरा सहितका विभिन्न संघ संस्थाले आयोजना गर्दै आएका मेला महोत्सवको रौनक यही मसिंर २१ गते देखि सुरु हुने भएको हो ।
महोत्सवको इतिहास हेर्दा पोखराबाटै यसको सुरुवात भएको पाइन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जीव कोइरालाले २०५२ मा पहिलो पटक पोखरामा महोत्सव भएको दाबी गर्नु भयो । राज्यले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै यहाँ उत्पादित बस्तुको बजारीकरण र प्रदर्शनीमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा यसको जिम्मा उद्योग वाणिज्य सङ्घहरूले अपनत्व गर्दै आएको सन्दर्भमा अब राज्यले उनीहरुलाई उक्त मेला महोत्सव गर्न आर्थिक सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।
पोखरा क्षेत्रमा मङ्सिर २१ गते देखि लगातार जसो दुई महिना हुने मेला महोत्सवले पालिका क्षेत्रमा आर्थिक केही क्रियाकलाप चलायमान बनाउन सहयोग पुग्ने पूर्व अध्यक्ष कोइरालाले बताउनु भयो । लगानी सम्मेलन जसरी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको मेला वा महोत्सव आवश्यक भएको उहाँको भनाई छ । कृषि र पर्यटनबाट हाम्रो जस्तो मुलुकलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ हाल विश्व बजारमा के कस्ता प्रविधि र बस्तुहरू उत्पादन भएका छन् ती विषयको बारेमा पोखरामा छलफल र प्रदर्शनी हुन आवश्यक भएको कोइरालाले बताउनु भयो ।
प्रायः मङ्सिर महिनाको तेस्रो साता देखि पुष महिना भरी नै पोखरामा विभिन्न मेला र महोत्सव हुने महोत्सव आयोजक संस्थाहरूले जनाएका छन्। कोभिड पछि आर्थिक मन्दिरले हाल देशमा अर्थतन्त्र निकै शिथिल भएको अवस्थामा विभिन्न मेला र महोत्सव हुनुले केही हदसम्म भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने आफूहरूको विश्वास लिएको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनु भयो । पोखरा क्षेत्रमा हुने मेला महोत्सवले यहाँको कृषि उत्पादनको बजारीकरण केही पर्यटन प्रबद्र्धन गर्नुका साथै आर्थिक क्रियाकलापलाई थोरै भए पनि चलायमान बनाउने भएको उहाँले जनाउनु भयो ।
मेला महोत्सवले व्यक्तिहरूमा खर्च गर्ने प्रवृत्ति बढाउने जसले अर्थतन्त्रमा केही हद भए पनि चलायमान बनाउने भएको अर्थ शास्त्री डा.लेखनाथ भट्टराईले बताउनु भयो । मेला र महोत्सव हुँदा स्थानीय उत्पादन हस्तकलाका सामानलाई प्रोत्साहन बढी गर्नु पर्नेमा उहाँको जोड छ । विदेशबाट आयातित गरिएका बस्तु मेला महोत्सवमा बिक्री भए पनि अधिकांश रकम विदेशिने अर्थशास्त्री भट्टराईको भनाई छ । ठुला उद्योगी व्यवसायीहरूले अनलाइनको माध्यमबाट पनि आफ्नो बजारीकरण गर्ने गरेको अवस्थामा साना र मझौला उद्योगहरूलाई यस्ता मेला महोत्सवले प्रबद्र्धन गर्नुपर्ने उहाँले बताउनु भयो ।
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २१ देखि पुस १ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । ३ सय भन्दा बढी स्टल रहने महोत्सवको अन्तिम तयारीमा रहेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले बताउनु भयो ।
यहाँ एकै मितिमा विभिन्न मेला र महोत्सवको रौनक हुने गर्दछ । पोखरामा आठौँ संस्करणको पर्वतीय महोत्सव यही मङ्सिर २२ गतेदेखि सञ्चालन २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रोमा हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा आउँदो पुष ५ देखि १६ गतेसम्म १९ औ संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । सुन्तला महोत्सवबाट सुरु भएको उक्त महोत्सव हरेक बर्ष जसो उत्कृष्ट रुपमा सफल हुँदै आएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताउनु भयो ।
त्यसै गरी पोखरामा विगत लामो समय देखि लाखौँ पर्यटक भित्राउँदै पोखरा सडक महोत्सवले अर्को रौनक थप्ने गरेको छ । यस वर्षको २५ औँ पोखरा सडक महोत्सव पुष १२ देखि १६ गतेसम्म हुने भएको महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो । उसो त पोखरामा एउटा क्लबले आयोजना गरेको महोत्सव नमुना महोत्सवकै रुपमा स्थापित भएको छ । पोखराको युनाइटेड क्लबको आयोजनामा यस बर्ष पुसको अन्तिम साता १२ औँ संस्करणको पोखरा महोत्सव हुने भएको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो ।
पोखरामा हुने मेला महोत्सवले आ आफ्नो पहिचान बनाउन सफल भएका छन्। पोखरामा आज भन्दा करिब २५ बर्ष अघि पर्यटनको अफसिजनमा सुरु भएको पोखरा लेकसाइडमा रहेको पोखरा सडक महोत्सवले देशकै सबै भन्दा बढी दर्शक भित्रिने महोत्सवको रुपमा रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले दाबी गर्दै आउनु भएको छ ।
उक्त मेलामा करिब ४ लाख ५ लाख पर्यटक भित्रिने उहाँको दाबी छ । पर्यटनको अफसिजनमा भारतका विभिन्न शहरमा मेला र महोत्सव मनाउन जाने व्यवसायीहरुले पोखरामा पनि किन नगर्ने भन्दै सुरु भएको पोखरा सडक महोत्सवले हाल देशका चर्चीत शहरको आन्तरिक पर्यटकहरुलाई आकषर्ण गर्न सफल भएको पोखराका अग्रज पर्यटन व्यावसायी गणेश बहादुर भट्टराईले बताउनु भयो ।