दीननाथ बराल
पोखरा, ७ मंसिर
“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम पोखरामा पनि सम्पन्न भएको छ ।
उक्त अवसरमा पोखरामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वक्र्स प्रा.लि. र कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन्। आन्तरिक राजस्व कार्यालय पोखरामा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरू मध्य बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त, व्यापार तर्फ माछापुच्छ्रे मेटल र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि.लाई बिषेश सम्मान गरिएको प्रमुख कर अधिकृत शर्माले बताउनु भयो । उक्त अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई समेत सम्मान गरिएको उहाँले जनाउनु भयो ।
सम्मानित करदाताहरुलाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताउनुभयो । करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्नेमा उहाँले जोड दिनु भयो । यसैगरी कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक बिनोद बहादुर कुँवरले कर प्रशासनलाई अन्तराष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिनु भयो।
यसैगरी आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ नभए पनि त्यसको दिर्घकालिन रुपमा लाभ हुने दाबी गर्नु भयो । पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति आभार व्यक्त गर्दै कर तिर्नु असल नागरिकको कर्तव्य भएको उहाँको भनाई थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र चेम्बर अफ कमर्श पोखराका अध्यक्ष यमनाथ पौडेल लगायतले कर प्रशासन व्यवसाय मैत्री बन्नुपर्नेमा जोड दिनु भयो ।