किसानलाई धान थन्काउन भ्याई नभ्याई

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १, मंसिर

हिजोआज किसानलाई बर्ष भरी खाने धान थन्काउन भ्याई नभ्याई भएको छ । यसै क्रममा पोखरा क्षेत्रका किसानलाई पनि धान थन्काउने हतारो भएको छ ।

नेपालीहरुका महान पर्व वडा दशैं, शुभ दिपावली जस्ता चार्ड सकिए लगत्तै किसानहरु आफ्नो बर्ष भरी खाने धान थन्काउने चटारोमा लागेका हुन्।

पोखराको पहिचान नै बनाएको पोखरेली जेठोबुढो, पहेले, झिनुवा, गुर्दी लगायतका जातको धान केही ढिलो पाक्ने हँुदा उक्त जातको धान थन्काउन पोखराका किसानलाई चटारो भएको हो । मनसुली, राधा सात, ठिमाहा लगायतका जातका धान भने केही समय अघि नै पाकेको थियो ।

मौसम पनि निकै राम्रो भएको र यस बर्ष मल समेत किसानले समयमै उपलब्ध भएकोले यस बर्ष पोखरा क्षेत्रमा धान उत्पादनमा बृद्धि हुने पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो । उहाँका अनुसार टारी खेत बाहेक पानी लाग्ने ठाँउको धान थन्काउन यति वेला पोखरा क्षेत्रका किसानलाई भ्याई नभ्याई भएको छ ।

पोखरा क्षेत्रमा यस बर्ष अघिल्ला बर्षको तुलनामा धान उत्पादनमा केही बृद्धि हुने उहाँले दाबी गर्नु भयो । पोखरा क्षेत्रमा ११ हजार २ सय हेक्टर क्षेत्रमा धान उत्पादन हुने गरेको उहाँको भनाई छ । पोखरामा यस बर्ष करिब ४० हजार ३ सय २० मेटिक्टन भन्दा बढी धान उत्पादन हुने महाशाखा प्रमुख कडरियाले बताउनु भयो ।

पोखरा क्षेत्रका पार्दी विरौटा, फेवाफाँट, भद्रकालि, शिशुवा, पोखरा फुलवारी, हेमजा, बेगनासफाँट लगायतको क्षेत्रमा हाल धान काट्न त केहीले धानको कुन्यो लगाउन किसान व्यस्त हुनु भएको छ ।