गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८० मा प्रकाशित


पोखरा, १६ कात्तिक ।
गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । बुधबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । सहभागीहरुले गर्मी समयमा देखा पर्ने रोग, कीटजन्य रोगको उपचारबारे छलफल गरे । उनीहरुले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा परेको र पहिलेदेखि भइरहेको रोग विस्तार भएको निष्कर्ष निकालिएको छ ।

कार्यशालाको गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले स्वास्थ्य प्रमुखहरुलाई जिम्मेवार बनेर कर्तव्य पालना गर्न आग्रह गरिन् । उनले पालो कुरेर भन्दा पनि जहाँ समस्या हुन्छ त्यहाँ समस्या समाधानमा केन्द्रित हुन आग्रह गरिन् ।

कार्यशालामा सहभागी स्वास्थ्य प्रमुखहरुले गर्मी याममा देखा पर्ने रोग, किट जन्य रोग र यस्तो रोगको रोकथामसम्बन्धि विषयमा छलफल गरे । यसका साथै जलवायु परिवर्तन, वायु प्रदुषण आदिका बारेमा पनि छलफल भएको थियो ।

कार्यशालामा सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले अबको दुईतीन बर्षमा गण्डकी प्रदेशलाई स्वच्छ खानेपानी, स्वच्छ वायू तथा स्वच्छ खाद्यान्न, लामखुट्टे रहित प्रदेशको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यशालामा गण्डकी प्रदेश भित्रका सरकारी अस्पताल प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति थियो । उनीहरुले गण्डकीलाई लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले तीनवर्ष भित्र लामखुट्टे रहित बनाउन सामूहिक कार्यक्रम गर्ने बताए ।



This will close in 20 seconds