पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिड बढ्दो दुई दिनमै ९ करोड सटही

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८० मा प्रकाशित


डि.एन.बी.
पोखरा ३०, असोज

पोखरामा मंगलबार देखि नयाँ नोटको सटही गर्नेहरुको संख्यामा बृद्धि भएको छ । सोमबार देखि सुरु भएको नयाँ नोट सटही मंगलबारदेखि अत्याधिक भिडभाड सहित अघिल्लो दिन भन्दा मंगलबार बढी रकम सटही भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ ।

कार्यालयले मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आम सर्वसाधरणको लागि दुई दिनमै ९ करोड ३८ लाखको नयाँ नोट सटही गरिएको उहाँले जनाउनु भयो । पहिलो दिन सोमबार ३ करोड ७५ लाखको नयाँ नोट सटही गरेको उपनिर्देशक शुर्खालीले उल्लेख गर्नु भयो ।

यस बर्षको दशैं पर्व लक्षित हुने गरी सोमबार देखि आउदो शुक्रबारसम्म आम सर्वसाधारणहरुको लागि सानो नोट १८ हजार ५ सय रुपैयासम्मको एक बण्डल सटही हुने भएको उपनिर्देशक शुर्खालीले उल्लेख गर्नु भयो । राष्ट्र बैंक पोखरा कार्यालयले नयाँ नोट सटही गर्न सुरु गरेसंगै सटही गर्नेहरुको मंगलबार पनि बिहानै देखि भिडभाड सुरु भएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रति व्यक्ति १८ हजार ५० सयको नयाँ नोट सटही गर्न पोखराको कार्यालयबाट सुरु गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताउनु भयो । आम सर्वसाधारणको लागि भने गत बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक बण्डल सटहीको व्यबस्था गरिएको उहाँले जनाउनु भयो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी प्रदेशका बैंक तथा विक्तिय संघ संस्थाहरुलाई पहिलो चरणमा ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैंक पोखरा कार्यालयलका उप—निर्देशक सम्झना ढकालले एटुजेडलाई बताउनु भयो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैया बैंक तथा विक्तिय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो ।

यस बर्ष आफुहरुसंग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गर्दै गरेकोे उप—निर्देशक ढकालले जनाउनु भयो । आफ्ना बावबालिकाहरुको खसिको लागि नयाँनोट सटही गर्न आएको सेवाग्राहीको भनाई छ ।