पोखरा २२ (पुम्दी—भुम्दी) मा ३ दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २८, असोज

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी—भुम्दी) आइतार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित हुनु भएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा तीन दीनसम्म चलेको स्वास्थ्य शिविरमा १० विधामा २ हजार ५ सय ९६  सेवा उपलब्ध गराएको नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा जनरल सेवा ५ सय ७०, हाडजोर्नी तथा नसा ३ सय ९८, स्त्रीरोग परिक्षण सेवा १ सय ९०, नाक कान घाँटी सेवा २ सय ६४, दन्त परिक्षण सेवा २ सय ९३, सुगर परिक्षण २ सय ८९ ,पिसा परिक्षण सेवा १ सय ७९, भिडियो एक्सरे सेवा २ सय ४२ ईसिजि सेवा २ सय २३ गर्व परिक्षण १ जनाको परिक्षण गरिएको कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले बताउनु भयो । केही व्यक्तिले दुई वा दुई भन्दा बढी पनि एकै स्थानबाट सेवा प्राप्त गर्नु भएको उहाँले बताउनु भयो ।

उक्त शिविरमा डा.सुदर्शन आचार्य, डा.विनोद बराल, डा.अंकुर के.सि.,डा.मनिषा बराल, डा.सिजन मर्सानि सहित अन्य स्वास्थ्यकर्मी खटिनु भएको संयोजक भण्डारीले बताउनु भयो । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आफुहरुको सानो प्रयासमा केही महिना पछि पुनः पुम्दी भुम्दीमा शिविर आयोजना गरी आम वडाबासीलाई सचेत गराउने अवसर मिलेको बताउनु भयो । पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले आफ्नो वडाबासीको स्वास्थ्यको क्षेत्रमा नेलम्बो नेपालले चासो दियर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता शिविर संचालन गर्न आग्रह गर्नु भयो ।

यसैबिच, असोज २६ गते देखि सुरु भएको उक्त शिविरको गण्डकी प्रदेशका सांसद प्रकाश बराल र वडा अध्यक्ष हिमलाल बरालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै दशैंको अवसरमा बिषेश गरी हरेकले आफ्नो स्वास्थ्यलाई बिषेश ध्यान दिन आग्रह गर्नु भएको थियो ।