दीननाथ बराल
पोखरा, २८ असोज
पोखराको विन्ध्यवासिनी मन्दिरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० सुरु भएकोे छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा आज (घटस्थापना) देखि उक्त महोत्सव सुरु भएको हो ।
नवमीसम्म चल्ने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै पोखराको धार्मिक तिर्थ स्थलको रुपमा रहेको उक्त मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । भारतिय पर्यटकहरुको आकषर्णको केन्द्र बनाउन मुक्तिनाथ मन्दिर जाने पर्यटकहरुलाई समेत आकषर्ण गर्न सक्नुपर्ने उहाँको भनाई थियो । यस अघि पोखरामा निकालिएको शोभा यात्रामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पन्चे बाजा सहित उक्त शोभा यात्रामा सहभागि हुनु भएको थियो । शोभा यात्रामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य लगायतको सहभागिता रहेको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले एटुजेडलाई बताउनु भयो ।
महायज्ञमा प्रखर वक्ता युवा पंडित हरि शरण पौडेलबाट संगीतमय झाँकी सहित कथा प्रस्तुत भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपरान्ह ४ बजेसम्म विभिन्न विद्वानहरु विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारयण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य पशुपती पौडेलहरुवाट कथा प्रवचन हुदै छ । नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकी सहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुने समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले बताउनु भयो । त्यसै गरी दिउँसो देखि साँझसम्म नवदुर्गाको महिमा सम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने भएको छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तिर्थ श्रेष्ठको बुझाई छ ।