पोखरामा खुला फुटसल प्रतियोगिता सुरु ,उद्घाटन खेलमा सविन मेमोरियलको विजयी सुरुवात

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २७, असोज

राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरामा शनिबार देखि नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ सुरु भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सविन मेमोरियल फुटवल क्लवले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा सविन मेमोरियलले बाँझा पाटन फुटवल क्लव (बी—थर्टीन) लाई २—१ को गोल अन्तरले पराजित गरेको हो । सविनको जितमा अंकित गुरुङ र अविनास तामाङले एक एक गोलको योगदान दिनु भयो । पहिलो हापको अन्तिम समय तर्फ खेलको पहिलो गोल गरेका बी—थर्टीनका श्रीकृष्ण श्रेष्ठको खुसि केही वेर मात्र रह्यो । दोश्रो हापको खेलमा सम्मालिन नसक्दा बी—थर्टीन खेलमा पहिलो गोल गरे पनि अन्ततः पहिलो खेलबाट पराजित हुनु पर्यो ।

दोश्रो खेलमा शिशुवा भद्रकालि फुटवल क्लवले ड्रिमर्च फुटवल क्लवलाई ६—३ को गोल अन्तरले पराजित गरेको हो । शिशुवाको जितमा यूनिक तामाङले ह्याट्रिक, प्रविन गुरुङ, मनिल गुरुङ र प्रनिस गुरुङले एक एक गोलको योगदान दिनु भयो । ड्रिमर्चका धिरज मगर, प्रज्ज्वल शाही र सुरज गुरुङले एक एक गोल गरे । भोलि (आइतबार) बिहान ८ः०० बजेदेखि खेल सुरु हुने भएको छ भने आइतबार ५ खेल हुने भएको छ ।


यसैबिच उक्त प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अखिल नेपाल फुटवल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल र फुटवल खेलको विकासमा यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनु भयो । यस्ता प्रतियोगितालाई निरन्तरता दिन आवश्यक सहयोग जुटाउन कर्पोरेट सहित विभिन्न दातासंगको खोजी कार्यमा सहयोग गर्ने वचन दिनु भयो ।

यही असोज ३० गतेसम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो “पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित आयोजना गरेका थियौं, आयोजकबाट खेलेका खेलाडीहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरेका हौं । ”

प्रतियोगिताका बिजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको प्रतियोगिता संयोजक आशिष क्षेत्रीले बताउनु भयो । पहिलो संस्करणमा विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार राखिएको थियो । विधागततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५÷२५ हजार रुपैयाँबाट पुरस्कृत गरिने भएको छ । उद्घाटन सत्रमा एन्फा गण्डकी प्रदेशका उपाध्यक्ष मिलन गुरुङ, नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नविन पुन लगायतको समेत सहभागिता रहेको थियो ।