कर्मचारी युनियन कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८० मा प्रकाशित


पोखरा, असोज २७

नेपाल निजामती कर्मचारी युनियन कास्कीले विजयदशमी, शुभ दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा सरुवा बढुवा भएका कर्मचारी सदस्यहरुको स्वागत एवं विदाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सांसद सरस्वती गुरुङले जनताका काम छिटोछरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

सरकारलाई सफल गराउने हात नै निजामती प्रशासनमा रहेको उहाँको भनाई थियो । ‘जनताका स–साना कामलाई गरेमा ठूलो उपलब्धि हासिल हुन्छ, गुरुङले भन्नुभयो, विदेश पलायन भइरहेका युवा जनशक्तिलाई यही नै रोजगारी, उद्यमको बातावरण सृजना गर्नु आवश्यक सँगै चुनौती छ । यस बिषयमा हरेक क्षेत्रको शुक्ष्म अध्ययन आवश्यक छ ।’

नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले कर्मचारी प्रशासन नै सरकारको बल भएकाले नागरिकसँग प्रत्यक्ष सेवा प्रवाहमा सरीक रहनुपर्ने बताउनुभयो । युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारी प्रशासनले बनाउने निति राजनितिक नेतृत्वले स्वीकार गर्न नसक्दा मुलुकमा सुशासन हुन नसकेको बताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेशका अध्यक्ष दिपक रेग्मी, कास्की कांग्रेसका सहसचिव नविन सिग्देल, कर्मचारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश कुमार सिग्देल, उपसचिवहरु प्रविण ढकाल, विश्व आचार्य र अम्बिका आचार्य लगायतले कर्मचारीमा एकता कायम राख्दै आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा सरूवा बढुवा हुनुभएका कर्मचारीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।