साँढे ९ महिना पछि पोखरामा पुनः तोरीपानीबाट आइतबारदेखि प्याराग्लाईडिङको उडान हुने

-


     पोखरा क्लिक     
     असाेज २६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २६ ,असोज

साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट पुनः उडान हुने भएको छ । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको प्याराग्लाईडिङको उडान (टेकअफ) आउदो आइतबार घटस्थापनाको दिन देखि पोखरा १८ को तोरीपानीबाटै हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले एटुजेडलाई बताउनु भयो ।


पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण देखाउदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई संचालन गरिएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट आउने भएसंगै हाल उक्त क्षेत्रमा उडान भर्ने स्थलमा मर्मत संहार तथा कार्पेट राख्ने काम भई रहेको अध्यक्ष भट्टराईले हामीलाई बताउनु भयो ।

संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन अनुमति प्राप्त भएको नाले जनाएको छ । एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (ए.आई.पि.) मा तोरीपानीबाट पोखराको प्याराग्लाईडिङ गर्न उपयुक्त छ भनी अनुमति सहितको सूचना प्रकाशन भएसंगै अब आफुहरु आफ्नो आन्तरिक तयारी गरी पहिलाकै स्थानबाट प्याराग्लाईडिङ गर्ने भएको अध्यक्ष भट्टराईले बताउनु भयो ।

अब आफुहरुलाई पोखराको आकाशमा पहिलाको तुलनामा केही बढी क्षेत्र प्राप्त गरेसंगै अब ल्याडिङको बिषयमा पनि पहिलाकै स्थान पखौदीमा ल्याडिङ(अवतराण) को लागि माग गरिएको उहाँले बताउनु भयो । आफुहरुले हाल अन्तराष्ट्रिय स्तरको प्याराग्लाईडिङको उडान भर्ने स्थल(टेकअफ) बनाउने गरी कार्पेट समेत विच्छाउने गरी काम गरेको अध्यक्ष भट्टराईले उल्लेख गर्नु भयो । करिब ८ लाखको लागतमा उक्त मर्मत तथा संहार एवं सरसफाई गरिने भएको नाले जनाएको छ ।

पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण हाल पोखरामा विहान ११ः०० बजे देखि दिउँसो ३ः०० बजेसम्मको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएको छ । आफुहरुले क्यान सहित पर्यटन विभाग तथा मन्त्रालयहरुमा पोखराबाट सोलो प्याराग्लाईडिङ गर्ने समेत अनुमती माग गरेको अध्यक्ष भट्टराईले जनाउनु भयो ।

पोखरामा फष्टाउदै आएको साहसिक खेल प्याराग्लाईडिङ स्थान्तरण भएसंगै हिजोआज करिब ५ गुणाले खस्केको व्यवसायीहरु बताउनु हुन्छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन हुनु पूर्व पोखराबाट दैनिक जसो ५ सय आन्तरिक तथा बाह्यि पर्यटकहरुले प्याराग्लाईडिङ गर्र्दै आए पनि हाल स्थान्तरण भएसंगै हिजोआज भने पहिलो तुलानमा ५ गुणाले ह्वात्तै घटेर १ सय जनाको हाराहारीमा पुगेको निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बताउनु भयो ।