मनाङमा भीरबाट लडेर अमेरिकी पर्यटकको ज्यान गयो

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा १९, असोज

हिमालपारीको जिल्ला मनाङमा भिरबाट लडेर एक अमेरिकी पर्यटकको ज्यान गएको छ । लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्दा बिचमा पहिरो आएका कारण पहिरो पन्छाउने क्रममा गाडी रोकिएको अबस्थामा एक्कासी गाडीबाट झर्नु भएका अमेरिकी पर्यटक ६९ बर्षिय चार्ल्स केथ डेभिजको भिरबाट खस्न पुग्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्नु भएको डेभिजको अमेरिकी राहदानी नं. ६८१७१७४२५ रहेको छ । बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गाउँपालिका ३ खोत्रोडाँडाबाट सडकमा झरेको पहिरो पन्छाउने क्रममा बुधबार राती करिब १०ः०० बजे सडकबाट करिब एक मिटर तल डेभिज मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ । पहिरो पन्छायर करिब ३० मिनेट जसो डेभिजको खोजी गर्दा नभेटे पछि उहाँहरुको टोलीले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर खोजतलास गर्दा डेभिज मर्साङदी नदी कीनारामा देखेर प्रहरीले स्टेचरमा राखि उहाँलाई अस्पताल पुर्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले अमेरिकी पर्यटक डेभिजलाई राती नै करिब १ः०० बजे उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगेको थियो । राती करिब ३ः०० बजे अस्पताल लगिएकोमा ३ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मनाङका डिएसपी फडिन्द्र रानाभाटले बताउनु भयो ।  डेभिजको शवलाई पेष्टमार्टमको लागि एयर डाइनेष्टी हेलिकप्टर मार्फत् टिचिङ अस्पताल काठमाडौं लगिएको छ । उनको श्रीमती, गाईड र पोटर हेलिकप्टरमै फर्किएको बताइन्छ ।