
पोखरा, मंसिर ७,
विद्यार्थीमा रहेको नृत्य र गायन कलाको प्रस्फुटन गराउने उद्देश्यले पालिखेचोकस्थित प्रतिभा माविमा प्रतिभा स्टार एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । ‘प्रतिभा स्टार–२०८३’ अन्तर्गतको यो पहिलो आयोजित कार्यक्रम रहेको विद्यालयले बताएको छ । प्रतियोगितामा विद्यार्थीले आफ्नो गायन तथा नृत्य प्रतिभा प्रस्तुत गरेका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । उनले विद्यार्थीमा लुकेको कलालाई बाहिर ल्याउनका लागि यो कार्यक्रम गरिएको बताए । ‘विद्यार्थीमा फरक फरक क्षमता रहन्छ । त्यो क्षमता अवसर नपाउँदा देखाउन नपाउने हुनसक्छ । विद्यार्थीले विद्यार्थीभित्र लुकेको गाउने र नाच्ने क्षमतालाई उजागर गर्न प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने । विद्यालयका प्राचार्य किरण सापकोटाले पनि विद्यार्थीमा फरक फरक क्षमता हुने भएकोले उक्त क्षमतालाई उजागर गर्न जरुरी रहेको बताए । ‘फरक विद्यार्थीसँग फरक क्षमता हुन्छ । त्यो क्षमता अवसर नपाउँदा उजागर गर्न नपाउने अवस्था रहन्छ । विद्यालयले अवसर दिएको हो,’ उनले भने, ‘विद्यार्थीको चाहना पनि फरक फरक हुन्छ ।
हामीले त्यही चाहना अनुसार क्षमता पहिचानको प्रयास थालेका हौं ।’ प्रतियोगितामा गायन र नृत्य गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो । दुवै विधामा १६–१६ जनाले स्पर्धा गरेका थिए । विद्यालयका निर्देशक राकेश जोशीका अनुसार पहिलो चरणमा गायनतर्फ ७ र नृत्यमा ५ जना छानिएका थिए । उनीहरुबीच प्रतिब्पर्धा गराएर उत्कृष्ट छनोट गरिएको थियो । गायन विधातर्फ कक्षा ११ डी म्यानेजमेन्टका काब्या बराल विश्वकर्मा प्रथम, कक्षा ११ बी म्यानेजमेन्टका कृष्ण गुरुङ द्वितीय र कक्षा १२ एफ म्यानेजमेन्टका सुलभकुमार भण्डारी तृतीय भए।
त्यसैगरी, नृत्य विधातर्फ कक्षा ११ डी म्यानेजमेन्टकी अनुष्का गुरुङ प्रथम, कक्षा १२ डी विज्ञानकी प्रिन्सा गुरुङ द्वितीय र कक्षा ११ ए साइन्सकी ग्लोरी राना तृतीय भए । दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिता तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका निर्देशक राकेश विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धिमा यस्ता अतिरिक्त क्रियाकलापको महत्व रहने बताए । विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकाससँगै कला, संस्कृति र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पु¥याउने विश्वास रहेको प्राचार्य सापकोटाको भनाई छ ।






