
दीननाथ बराल,
पोखरा ७, मंसिर,
खेलकुदको शहर पोखरामा यही मङ्सिर ९ गतेदेखि फेवा किड्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३हुने भएको छ । युनाइटेड किड्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा नेपालका छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ र किड्स पोखरा भलिबल क्लब रहेको संयोजक गुरुङले जनाउनु भयो । प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, तृतीय हुने टोलीले एक लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
राष्ट्रियस्तरमा पुरुष भलिबल खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने, प्रतिभावान् खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने तथा पोखरालाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले जनाउनु भयो । प्रतियोगिता संयोजक थमन गुरुङले यस वर्षदेखि सुरु हुन लागेको प्रतियोगितालाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताउनुभयो । उहाँले प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखराको भलिबल विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । किड्स पोखरा भलिबल क्लबको टोलीमा भारतका तीन खेलाडीसमेत सहभागी हुने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका सचिव अशोक थापाले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । खेल अवलोकनका लागि सिजनल पास तथा दुई हजार पाँच सय रुपैयाँको प्रवेश टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताबाट बचत रकम सामाजिक तथा खेलकुदको विकासको लागि खर्चिने भएको संयोजक गुरुङले बताउनु भयो । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण भने पब्लिक फोके टिभिले गर्ने भएको छ ।






