
पोखरा,
पोखरामा जारी गण्डकी प्रधानमन्त्री कप (पीएम) महिला टी–२० क्रिकेट छनोट प्रतियोगितामा नवलपुरले पर्वतमाथि ३२ रनको सहज जित हासिल गरेको छ। नवलपुरले दिएको ७६ रनको लक्ष्य पछ्याएको पर्वत कमजोर ब्याटिङ प्रदर्शन गर्दै १३.१ ओभरमा ४३ रनमै समेटिएपछि नवलपुर विजयी भएको हो।
पर्वतका लागि ओपनर दिपिका सापकोटा र सुशिला भट्टराईले समान १०–१० रन बनाउनु नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। दुवैले समान १० बलमा एक–एक चौका प्रहार गरेका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पर्वतका एन्जल अधिकारीले ४, योगिता केसी र प्रतिभा खड्काले समान २, कप्तान कृषा अखेलीले ३ रन बनाए। जिविका क्षेत्री, जिविका परियार, विपिसा विक र अनुषा पौडेल खाता नै नखोली आउट भए भने जेनिसा शर्मा शून्य रनमा अविजित रहिन्।
पर्वतको ब्याटिङ धराशायी बनाउने क्रममा नवलपुरकी निहारिका शर्माले उत्कृष्ट बलिङ गरिन्। उनले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। कप्तान श्रेया शर्मा र शिक्षा गिरीले समान २–२ तथा आयुष्मा चापागाईंले एक विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। नवलपुरका लागि वर्षा विकले सर्वाधिक २५ रनको योगदान दिइन्। उनले ४१ बलको सामना गर्दै ४ चौका प्रहार गरिन्। ओपनर धनकुमारी क्षेत्रीले १२ रन बनाइन्।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। आयुष्मा चापागाईं २, कप्तान श्रेया शर्मा १, निहारिका शर्मा ३ र निकिता कुँवर ५ रनमा आउट भए। शिक्षा गिरी ७ र अनुष्मा तिमिल्सिना १ रनमा अविजित रहे। पर्वतका लागि दिपिका सापकोटाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। जिविका क्षेत्री र कप्तान कृषा कडेलले समान एक–एक विकेट लिए। नवलपुरले सामान्य योगफल खडा गरे पनि कसिलो बलिङ र उत्कृष्ट प्रदर्शनमार्फत पर्वतलाई सस्तैमा समेट्दै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ।






