
पोखरा २९, कार्तिक,
गण्डकी प्रदेशस्तरीय पीएम कप महिला टी–२० छनोट प्रतियोगितामा कास्कीले आफ्नो अपराजित यात्रा जारी राखेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (आइतबार) भएको लिग चरणको खेलमा बागलुङलाई फराकिलो ८९ रले पराजित गर्दै कास्कीले लगातार तेस्रो जित हात पारेको हो ।
पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । टोलीका लागि चन्द्रमाया बरालले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले चार चौका प्रहार गर्न सफल हुनु भयो । सृजना पौडेलले २५, रेखा तामाङले १३ र बिनिता सिग्देलले ११ रनको योगदान दिनुभयो । बागलुङकी अनुजा सुनारले तीन विकेट लिँदा समरचना घिसिङ तामाङले दुई तथा कुसुम राईले एक विकेट लिनु भएको थियो ।
१ सय ५० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागलुङले भने कास्कीको कसिलो बलिङसामु खुलेर खेल्न सकेन । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै बागलुङ ६० रनमै सीमित भयो । अनुजा सुनारले १० रन बनाउनु नै टोलीको व्यक्तिगत उच्च स्कोर रह्यो । सङ्गीता बीके पाँच रनमा अविजित रहनु भयो भने कुसुम राईले चार र सिम्रन घर्ती क्षेत्रीले तीन रन बनाउनु भयो । कास्कीको जितमा सिमाना रेग्मीले चार विकेट झार्दै बागलुङको ब्याटिङ क्रमलाई धराशायी बनाउनु भयो । सुषिला डिमदुङ तामाङले दुई तथा यशोधा भुजेल र सोनिमा थापा मगरले समान एक विकेट लिनुभयो । प्लेयर अफ द म्याचको पुरस्कार कास्कीकी चन्द्रमाया बरालले प्राप्त गर्नुभयो । नाट्टा गण्डकीक अध्यक्ष संगिता पौडेलले उहाँलाई मेडल सहित पुरस्कार वितरण गर्नुभयो ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट छनोट भएका खेलाडीले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउने बताउनु भयो । साथै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा पोखरामा मङ्सिरको तेस्रो सातादेखि आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोलीसमेत छनौट हुने भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की सहित स्याङजा, पर्वत, नवलपुर, बागलुङ गरी पाँच जिल्ला को सहभागी छ । प्रतियोगिताको मुख्य उद्देश्य उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि प्रतिस्पर्धात्मक टोली निर्माण गर्नु रहेको आयोजक सङ्घले जनाएको छ ।






