
दीननाथ बराल,
पोखरा, २९ कात्तिक,
कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गण्डकी प्रदेशमा खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा प्रदेशको तर्फबाट खेलाडीसहित ७ सय ७९ सदस्यीय टोली सहभागी गराउने तयारीसहित प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट, प्रशिक्षण र व्यवस्थापनका कामलाई तीव्रता दिएको परिषदले पोखराक्लिकलाई जनाएको छ ।

परिषद्का अनुसार गण्डकीबाट ६ सय ५६ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रारम्भिक योजना छ। राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये कुस्तीबाहेक ३१ खेलमा गण्डकीको सहभागिता रहनेछ। प्रदेश खेलकुद परिषद्का अधिकृत कर्मचारी तोपलाल भुषालका अनुसार स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेशस्तरसम्म खेलाडी छनोटका कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय तहमा आयोजना भएका छनोट प्रतियोगिताबाट छानिएका खेलाडी जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागी भएका थिए। जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि अघि बढाइएको छ।
चाडपर्वलगायतका कारण केही स्थानमा छनोट प्रक्रिया प्रभावित भए पनि कात्तिक महिनाभित्र सबै खेलको छनोट प्रक्रिया टुंग्याउने लक्ष्य राखिएको भुषालले बताउनुभयो। उहाँका अनुसार छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने गरी प्रशिक्षणमा केन्द्रित गरिनेछ।
प्रतियोगिताको तयारीस्वरूप केही खेलका खेलाडीको प्रदेशस्तरीय बन्द प्रशिक्षण कात्तिक २७ गतेदेखि सुरु भइसकेको छ। छनोट भएका खेलाडीलाई कम्तीमा १२ दिन बन्द प्रशिक्षणमा राखेर प्रतिस्पर्धाका लागि तयार पार्ने योजना रहेको भुषालले जानकारी दिनुभयो। प्रशिक्षणमा खेलाडीको शारीरिक क्षमता, प्राविधिक दक्षता र खेल रणनीतिमा विशेष ध्यान दिइने परिषद्ले जनाएको छ।
खेलाडी छनोट तथा प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको थियो। छनोट प्रक्रिया निर्धारित मापदण्डअनुसार निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउनसमेत निर्देशन दिइएको परिषद्ले जनाएको छ।
यसैबीच, दसौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको सहभागिता व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद्ले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग ९ करोड रुपैयाँ बजेट माग गरेको छ। खेलाडी छनोट, बन्द प्रशिक्षण, खेल सामग्री खरिद, व्यवस्थापन तथा प्रतियोगितास्थलसम्म टोली परिचालनलगायतका कामका लागि उक्त बजेट आवश्यक पर्ने परिषद्को भनाइ छ।
परिषद्का लेखा अधिकृत नीलकण्ठ ढकालका अनुसार प्रतियोगिताको तयारीका लागि आवश्यक खर्चको विवरणसहित मन्त्रालयमा बजेट प्रस्ताव पेस गरिएको छ। राष्ट्रिय प्रतियोगितामा प्रदेशको सहभागिता प्रभावकारी बनाउन आवश्यक स्रोत व्यवस्थापन गर्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो।
यता, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले पनि दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि गण्डकी प्रदेशलाई ४९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। उक्त रकममध्ये करिब ३५ लाख रुपैयाँ पेस्कीस्वरूप प्राप्त भइसकेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
यसअघि पोखरामा २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३२ स्वर्ण पदक जितेको थियो। नवौँ राष्ट्रिय खेलकुदमा प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै आगामी प्रतियोगितामा थप राम्रो नतिजा हासिल गर्ने लक्ष्यसहित गण्डकीले तयारी अघि बढाएको छ।
कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल मङ्सिर ८ देखि २७ गतेसम्म सञ्चालन हुने उल्लेख छ। प्रतियोगिता नजिकिँदै गर्दा गण्डकीमा खेलाडी छनोटलाई पूर्णता दिने, बन्द प्रशिक्षण सञ्चालन गर्ने र आवश्यक बजेट तथा खेल सामग्री व्यवस्थापन गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।






