
दीननाथ बराल,
पोखरा २९, कार्तिक,
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामै राजस्व संकलनमा लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ । कार्यालयले असोज मसान्तसम्ममा निर्धारित लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ ।
कार्यालयले असोज मसान्तसम्म १ अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । यो निर्धारित लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी हो । लक्ष्यको तुलनामा कार्यालयले ११३ प्रतिशत प्रगति हासिल गरेको देखिन्छ । असोजसम्म १ अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । विभिन्न कर शीर्षकमा भएको संकलन र नेपाल सरकारले उपलब्ध गराएका कर छुट सुविधा तथा करदाता प्रोत्साहन कार्यक्रमले राजस्व वृद्धिमा सहयोग पु¥याएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले बताउनु भयो । राजस्व संकलनको तथ्यांक हेर्दा आयकरतर्फ सबैभन्दा बढी प्रगति भएको छ । आयकरमा ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ८ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको उहाँले जनाउनु भयो । यो लक्ष्यभन्दा २९ करोड ३८ लाख ३९ हजार रुपैयाँ बढी हो ।
त्यस्तै अन्तःशुल्कतर्फ ६ करोड १७ लाख ४५ हजार रुपैयाँ लक्ष्य रहेकामा ८ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यभन्दा करिब ४३ प्रतिशत बढी हो । अन्य कर शीर्षकमा ६१ लाख ७६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा २ करोड ३७ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । तर सबै कर शीर्षकको अवस्था भने समान छैन । घर बहालकर, ब्याजकर र मूल्य अभिवृद्धि कर (मूअकर) मा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन । घर बहालकरमा १ करोड ८१ लाख ९१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड ३१ लाख ३८ हजार रुपैयाँ मात्र संकलन भएको छ । यो लक्ष्यको करिब ७२ प्रतिशत हो । ब्याजकरतर्फ ९ करोड ८८ लाख ८२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ४ करोड ८७ लाख १५ हजार रुपैयाँ मात्र उठेको छ । यसले लक्ष्यको करिब ४९ प्रतिशत प्रगति देखाउँछ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ५३ करोड ३२ लाख ९९ हजार रुपैयाँ लक्ष्य रहेकामा अपेक्षित संकलन हुन सकेको छैन । यी शीर्षकमा देखिएको कमीलाई आगामी महिनामा सुधार गर्नु कार्यालयका लागि चुनौतीका रूपमा देखिएको छ । कार्यालयका कर्मचारी सुदिप रेग्मीले राजस्व संकलनको लक्ष्य पूरा गर्नुका साथै करदातालाई कर प्रणालीप्रति जिम्मेवार र सचेत बनाउनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।
राष्ट्रिय कर दिवसको अवसरमा पोखरामा सप्ताहव्यापी कार्यक्रम
यसैबीच, आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सञ्चालन हुने कर सप्ताहमा प्रभातफेरी, करदाता शिक्षा, अन्तरक्रिया, प्रशिक्षण, खेलकुद तथा उत्कृष्ट करदाता सम्मानलगायत कार्यक्रम गर्ने तयारी गरेको पोखराका प्रमुख कर अधिकृत ढुंगानाले बताउनु भयो ।
कार्यक्रमको पहिलो दिन मंसिर १ गते बिहान ७ बजे पोखरा सभागृहबाट प्रभातफेरी निकालिने भएको उहाँले जनाउनु भयो । प्रभातफेरी पोखराका विभिन्न भागको परिक्रमा गर्दै रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयमा पुगेर सभामा परिणत हुनेछ । मंसिर २ देखि ६ गतेसम्म पोखराका विभिन्न स्थानमा वस्तुगत संघ–संस्थाका प्रतिनिधिसँग करसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । कर प्रणाली, करदाताका दायित्व, करसम्बन्धी व्यवस्था र कर सहभागिताबारे जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्न लागिएको हो । त्यसैगरी मंसिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ । कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा विशेष समारोह आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गरिनेछ ।






