
दीननाथ बराल,
पोखरा, १३ कात्तिक,
पोखरा महानगरपालिकाको न्युरोडस्थित पुरानो मुख्य कार्यालय रहेको जग्गामा अब के निर्माण हुन्छ भन्ने विषयमा चासो बढेको छ । अघिल्लो वर्षको जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षति पुगेको भवन भत्काएर जग्गा खाली गर्ने प्रक्रिया अघि बढेसँगै उक्त स्थानलाई सार्वजनिक पार्क, पार्किङ सुविधा वा प्रशासनिक भवनका रूपमा विकास गर्ने विषयमा बहस सुरु भएको हो ।
महानगरपालिकाले भने उक्त जग्गाको उपयोगबारे अहिलेसम्म कुनै अन्तिम निर्णय गरिसकेको छैन । महानगर मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत विभिन्न सुझाव प्राप्त भइरहेको जनाउँदै प्राविधिक अध्ययन र छलफलपछि मात्रै उपयुक्त विकल्प तय गरिने स्पष्ट पार्नु भएको छ । शहरको व्यस्त व्यापारिक क्षेत्रमा रहेको महानगरको उक्त जग्गामा धेरैले सार्वजनिक पार्किङसहितको खुला क्षेत्रका रूपमा संरक्षण गर्नुपर्ने तथा अन्य सार्वजनिक उपयोगका संरचना बनाउनुपर्ने सुझाव नागरिकस्तरबाट आएका छन् । केहीले उक्त स्थानलाई हरियालीसहितको सार्वजनिक पार्कका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् ।
महानगरको स्वामित्वमा रहेको जग्गाको उपयोगबारे नागरिकस्तरमा चासो बढे पनि यसको भविष्य प्राविधिक अध्ययन, सहरी आवश्यकताको मूल्यांकन र महानगरको दीर्घकालीन योजनामा निर्भर रहने देखिएको छ । महानगरले भने बहुउद्धेश्य भवन बनाउन खोजेको श्रोतको भनाई छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार न्युरोडस्थित पुरानो कार्यालय रहेको जग्गाको क्षेत्रफल २ हजार ५११ वर्गमिटर अर्थात् करिब चार रोपनी १४ आना छ । उक्त स्थानमा केही नयाँ भौतिक संरचना निर्माण गर्ने महानगरको योजना रहे पनि कस्तो संरचना बनाउने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । महानगर मेयर आचार्यका अनुसार महानगरका सबै विभागलाई एउटै स्थानमा व्यवस्थापन गर्न सकिने गरी उपयुक्त जग्गाको खोजी भइरहेको छ । प्रशासनिक भवन निर्माणका लागि अन्यत्र उपयुक्त जग्गाको व्यवस्था हुन नसकेमा न्युरोडकै जग्गामा भवन बनाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
तर, न्युरोडको संवेदनशील सहरी क्षेत्रलाई ध्यानमा राख्दै पाँच तलाभन्दा अग्लो भवन निर्माण नगर्न विज्ञहरूले सुझाव दिएको आचार्यले उल्लेख गरेका छन् । जग्गाको चारैतर्फ सडक रहेकाले प्रचलित मापदण्डअनुसार भवन निर्माण गर्न मिल्ने क्षेत्रसमेत सीमित हुने देखिएको छ । महानगरपालिकाले आफ्नो प्रशासनिक भवन पोखरा महानगरपालिका–१७ मा निर्माण गर्ने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । यद्यपि, नयाँ भवन निर्माणको योजना र न्युरोडस्थित पुरानो जग्गाको उपयोगलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप छलफल आवश्यक रहेको उहाँको भनाइ छ ।
पुरानो कार्यालयको भवन आगजनीबाट क्षतिग्रस्त भई प्रयोग गर्न नसकिने अवस्थामा पुगेपछि त्यसलाई भत्काउने काम सुरु गरिएको हो । महानगरको प्रशासनिक भवन निर्माण समयमै सम्पन्न हुन नसक्दा हाल कार्यालय सञ्चालनका लागि भाडाको भवन प्रयोग गर्नुपरेको छ । महानगरले हाल पोखरा नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा कार्यालय सञ्चालन गरिरहेको छ । स्रोतका अनुसार कार्यालय सञ्चालनका लागि महानगरले मासिक करिब आठ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । न्युरोडको जग्गा सहरको महत्वपूर्ण क्षेत्रमा रहेकाले यसको उपयोगले पोखराको सहरी व्यवस्थापन, पार्किङ सुविधा र सार्वजनिक खुला क्षेत्रको उपलब्धतामा प्रभाव पार्ने देखिन्छ । एकातिर प्रशासनिक भवनका लागि उपयुक्त स्थान व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर व्यस्त बजार क्षेत्रमा सार्वजनिक पार्किङ र खुला स्थानको माग पनि उठिरहेको छ । महानगरले भने यी सबै पक्षलाई ध्यानमा राखेर विकल्पहरूको अध्ययन गरिरहेको जनाएको छ । प्राविधिक प्रतिवेदन प्राप्त भएपछि सम्भावित निर्माण विकल्प र निष्कर्षबारे आधिकारिक जानकारी गराइने प्रमुख आचार्यले स्पष्ट पार्नु भएको छ ।






