खाद्य स्वच्छतासम्बन्धी गृहिणीलाई उपभोक्ता सचेतना

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


पोखरा, १२ कात्तिक,

राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा खाद्य स्वच्छतासम्बन्धी पर्वतका गृहिणीलाई उपभोक्ता सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रम मन्त्रालयका सचिव रोशन ज्ञवालीको प्रमुख आतिथ्यमा भएको हो ।

सो अवसरमा प्रमुख अतिथि ज्ञवालीले भने, ‘उपभोक्तासँग सम्बन्धित थुप्रै कानुन रहेका छन् तर कार्यान्वयनमा जटिलता छ ।’ उनले आफूहरुको प्रयासमात्र नहुने भएकोले उपभोक्ता सचेत भएमात्र कानुन कार्यान्वयन सम्भव हुने बताए । पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पोखराबार्ट पर्वतमा आई यसप्रकारको कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गरे । कार्यक्रमबाट पर्वतका उपभोक्ताहरु सचेत भएको उनले विश्वास व्यक्त गरे ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले कार्यक्रममा सहभागिताको संख्या करिब सयमात्र भए पनि त्यसले बृहत्तररुपमा परिवार, समाजमा सकारात्मक प्रभाव पार्ने बताए । एकीकृत सेवा कार्यालय, पर्वतका प्रमुख जीवन पौडेलले हाल आफूलाई जिल्लामा अनुगमन समिति संयोजकको जिम्मेवारी तोकिएपछि प्रशस्त अनुगमन गरिएको बताए । सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति उपाध्यक्ष माया अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च पर्वत अध्यक्ष सीता केसीलगायतले उपभोक्ता सचेतनाबारे बोलेका थिए । सो अवसरमा विभिन्न ३ प्रकारका कार्यपत्र प्रस्तुत गरिएको थियो । उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासन महाशाखा प्रमुख महराज ढकालले ऐन कानुनको बारेमा कार्यपत्र प्रस्तुत गरे । यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले खाद्य स्वच्छताबारे र उपभोक्ता मञ्च गण्डकी प्रदेश सदस्य अधिवक्ता गीता लामिछानेले उपभोक्ताबारे कार्यपत्र प्रस्तुत गरेका हुन् ।

उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले मञ्चले प्रदेशका अन्य जिल्लाहरुमा पनि क्रमशः कार्यक्रम लैजाने बताए । उनले पर्वतको कार्यक्रमबाट गृहिणीमार्फत सिंगो परिवारका सदस्यहरुलाई पनि सहयोग पुग्ने अपेक्षा गरे । उनले आगामी दिनमा प्लस टुका विद्यार्थीलाई उपभोक्ता शिक्षा, उद्योगी व्यवसायीहरुलाई उपभोक्ता व्यावसायिक सचेतना कार्यक्रम, फलफूल तथा तरकारीमा विषादी न्यूनीकरण सम्बन्धलगायत विभिन्न कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । मञ्च अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्षसमेत रहेका मञ्चका उपाध्यक्ष रमेश पौडेल र संचालन मञ्चका कार्यसमिति सदस्य मिलनप्रसाद तिवारीले गरे ।
मञ्चले केही साताअघि मात्रै पोखरामा पनि बृहत् अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरेको थियो । दशैँतिहारलगायतका ठूला चाडपर्वका बेला सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे गण्डकी प्रदेश सरकारको सहकार्यमा सो कार्यक्रम भएको थियो ।



This will close in 20 seconds