पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य चयन

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


पोखरा, १२ कात्तिक,

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन हुनुभएको छ। परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो। अधिवेशनपछि बाँकी पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा आचार्य कोषाध्यक्षमा चयन हुनुभएको हो। लामो समयदेखि पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सक्रिय आचार्यले यसअघि टान गण्डकीको अध्यक्षका रूपमा नेतृत्व गरिसक्नुभएको छ। पर्यटन प्रवर्द्धन, पर्यटन व्यवसायीको हकहित र क्षेत्रका समस्याबारे आवाज उठाउँदै आउनुभएका उहाँ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका सदस्यसमेत हुनुहुन्छ।

पर्यटन व्यवसायको व्यावहारिक अनुभव र व्यावसायिक संस्थामा काम गरेको अनुभवलाई परिषद्को आर्थिक व्यवस्थापन तथा सांगठनिक गतिविधिमा उपयोग गर्ने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, महासचिवमा मिलन तिवारी, सचिवमा बाबुराम पाण्डे र सहकोषाध्यक्षमा शोभाकुमारी अधिकारी (सापकोटा) चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरूमा सुनिलबहादुर भट्टराई र जीवनराज सापकोटा लगायत रहनुभएको छ।

नयाँ कार्यसमितिले पूर्णता पाएसँगै पोखरा तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र आर्थिक मन्दीका कारण प्रभावित पर्यटन व्यवसायलाई चलायमान बनाउने विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूको छाता संस्थाका रूपमा रहेको पोखरा पर्यटन परिषद्मा नयाँ नेतृत्व र पदाधिकारी चयनसँगै पर्यटन क्षेत्रका साझा समस्या समाधान, व्यवसायीबीच समन्वय र पर्यटन बजार विस्तारका गतिविधिलाई थप प्रभावकारी बनाउने चुनौती र अवसर दुवै रहेका छन्।



This will close in 20 seconds