जनज्योतिमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बढाउन भू.पू. विद्यार्थीको पहल

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८३ मा प्रकाशित


अशोज १ पोखरा,

पोखरा महानगरपालिका–२८ कालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उद्देश्यले पाँच वर्षे विद्यालय सुधार रणनीतिक कार्ययोजना तयार गरिएको छ। जनज्योति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च, कालिकाको पहलमा कार्ययोजना तयार गरिएको हो। गत साउन ९ गते ऋषिराम त्रिपाठीको संयोजकत्वमा नन्दलाल त्रिपाठी र नगेन्द्रराज लामिछाने सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो।

समितिलाई दुई महिनाको समय दिइएको भए पनि निर्धारित समयअगावै बिहीबार कार्ययोजना तयार गरी मञ्चलाई हस्तान्तरण गरिएको हो। समितिका संयोजक ऋषिराम त्रिपाठीले मञ्चका अध्यक्ष किर्तिवल्लभ त्रिपाठीलाई ४९ पेजको कार्ययोजना हस्तान्तरण गरेका हुन्। कार्ययोजना तयार गर्न समितिले विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालासँग छलफल तथा आवश्यक अनुगमन गरेको जनाएको छ।  कार्ययोजनामा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जानुको कारण पहिचान गरी विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, प्रचारप्रसार तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिएको छ। विद्यार्थी सङ्ख्या वृद्धि गर्न घरदैलो अभियान, अभिभावकसँग प्रत्यक्ष संवाद तथा परामर्श, भर्ना अभियान र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम समेटिएका छन्। विद्यालयमा हाल प्रारम्भिक बालविकास कक्षादेखि कक्षा १२ सम्म अध्ययनअध्ययापन हुँदै आएको छ। कुनै समय कक्षा ६ देखि १० सम्म मात्रै पढाइ सञ्चालन हुँदा विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको उनीहरूको भनाइ छ ।

तर पछिल्ला वर्षमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गएको छ। विद्यालयको तथ्याङ्कअनुसार २०७९ सालमा १ सय २८ विद्यार्थी अध्ययनरत रहेकामा २०८० मा बढेर १ सय ७० पुगेको थियो। त्यसपछि २०८१ मा १ सय ४३, २०८२ मा १ सय १५ हुँदै चालु शैक्षिक वर्षमा १ सय ८ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएका विद्यार्थीमध्ये नियमित विद्यालय आउने विद्यार्थीको संख्या करिब ९८ रहेको जनाइएको छ। कार्ययोजनाले साविक कालिका क्षेत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या उल्लेख्य रहे पनि त्यसको तुलनामा जनज्योतिमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्या निकै न्यून रहेको औँल्याएको छ। विद्यालयको शैक्षिक नतिजा सन्तोषजनक रहे पनि विद्यालयबारे गलत सन्देश प्रवाह हुनु, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीच आवश्यक समन्वय तथा आकर्षण बढाउने प्रयास पर्याप्त नहुनुजस्ता विषयले विद्यार्थी सङ्ख्या घटाउन प्रभाव पारेको अध्ययनको निष्कर्ष छ।  कार्ययोजनामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन, अभिभावक तथा समुदायसँगको सम्बन्ध सुदृढीकरण, विद्यार्थी आकर्षणका कार्यक्रम र अतिरिक्त क्रियाकलापलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ।

विद्यालयको सुधारका लागि कार्ययोजनामा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न करिब ३ करोड ७३ लाख ६३ हजार रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गरिएको छ। कार्ययोजनाअनुसार २०८३र०८४ देखि २०८७र०८८ सम्मका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। मञ्चले विद्यालयको वर्तमान अवस्था सुधार गरी विद्यार्थी सङ्ख्या वृद्धि, शैक्षिक गुणस्तर अभिवृद्धि र समुदायमा विद्यालयप्रतिको विश्वास पुनःस्थापित गर्न कार्ययोजनालाई विद्यालयसँग मिलेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ।‍ कार्ययोजना हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका भू.पू. शिक्षक समेत रहेका शितलादेवी सामुदायिक विद्यालयका प्रधानध्यापक बाबुराम अधिकारीले विद्यालय प्रशासक र व्यवस्थापनले चाहेको खण्डमा विद्यालयको आकर्षण बढाउन सकिने बताए । त्यसको लागि आवश्यक भौतिक संरचना सहित उत्पेरक भूमिका र रणनीति तयार गर्न मञ्चले सहयोग गर्दा सहज हुने उल्लेख गरे ।  भू.पू. विद्यार्थी शुक्रराज अधिकारीले बस सञ्चालन गर्दा महंगो भएकोले धान्न समस्या हुन सक्ने बरु अतिरिक्त कक्षा सञ्चलान गरी विद्यालयमा छात्रवास  सञ्चालन गर्दा सहज हुने बताए ।

अर्का भू.पू. विद्यार्थी  विष्णु प्रसाद बरालले सङ्ख्या घटिरहेको अवस्थामा हालको भोटेकोशी बाढिले अभिभावक गुमाएका केही बालबालिकालाई मञ्च लगायतको पहलमा अध्ययन गर्ने व्यस्था गर्न सके सङ्ख्या पनि बढ्ने र सन्देश पनि राम्रो जाने सुझाब दिए । विद्यालयका प्रध्यानपक नवराज पराजुलीले  विद्यालयका भौतिक संरचना जिर्ण हुँदा समस्या भएको बताए । उनले सूचना प्रविधि लगायतको आवश्यक व्यवस्था गर्न सके शैक्षिक गुणस्तर र विद्यार्थीको आकर्षण बढाउन सकिने बताए । विद्यालयमा अध्यापनरत शिक्षको तालमेल र शिक्षण प्रद्धती प्रभाकारी रहेकोले अहिलेकै जनशक्तीले थप राम्रो नतिजा दिन सक्ने प्रष्ट पारे । विद्यार्थी उत्रिर्ण दर ९५ प्रतिशतको आसपासमा रहेको उनको भनाइ थियो । जनज्योति माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्च अध्यक्ष किर्तिवल्लभ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रम सचिव गुरु प्रसाद त्रिपाठीले सञ्चालन गरेका थिए ।