कुमुदिनी होम्स माध्यमिक विद्यालयको ३९ औँ स्थापना दिवसमा सम्मान, पुरस्कार र सहयोग हस्तान्तरण

-


     पोखरा क्लिक     
     पौष ५ गते २०८२ मा प्रकाशित


पोखरा ५, पुस,

पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शनिबार बिद्यालयको ३९ औं वार्षिकोत्सवमा विविध प्रतियोगिताका साथमा विभिन्न कार्यक्रम सहित १२ कक्षा सम्मका उत्कृष्ट १० मा परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

विजयीलाई पुरस्कृत, दीर्घ सेवा गरेका शिक्षक, उत्कृष्ट कर्मचारी र गत वर्षको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख १ हजार पुरस्कार अर्पण, विद्यालयलाई सहयोग लगायत विभिन्न जातजातिका कलासंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरेर ३९ औं वार्षिकोत्सव भव्यतासाथ सम्पन्न गरेको हो । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रतिवेदनसहित मन्तव्य व्यक्त गर्दै स्थापनाकालबाटै उत्कृष्ट शिक्षाका लागि कुनै सम्झौता नगरी यहाँसम्म आएको बताए । त्यसैले हामीले भन्दै आएका छौं, “सधैं उच्च लक्ष्य ।” हाम्रो कुनै कम्प्रोमाईज हुँदैन । उत्कृष्ट शिक्षाका साथमा हामीले अतिरिक्त क्रियाकलाप, शिक्षक र विद्यार्थी अनि अभिभावकहरुका लागि पनि उत्प्रेरणाका कार्यक्रमहरु गर्दै आएको बताए ।

समय सापेक्ष विश्वमा के चलिरहेको छ रु कस्तो शिक्षा प्रणालीमा जानुपर्छ र विद्यार्थीले के चाहिरहेका छन् भन्ने कुरालाई मध्यनजर गरेर सूचना प्रविधि, आईसिटि, थ्रिडिआई, पछिल्लो क्रममा एआईसम्मका सेमिनार गरिएको बताए । यो पर्यटकीय क्षेत्र पनि भएकोले नेपालमा छिमेकी देश चाईनाबाट धेरै पर्यटक आउने भएकाले भविष्यमा दोभाषेको काम गर्न इच्छुक हुनेहरुको लागि पनि काम लाग्ने भएकोले कक्षा ३ देखि ७ सम्म चाईनिज भाषाका कक्षाहरु संचालन भईरहेको, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र साईन्सको पढाई र नतिजामा पनि उत्कृष्टता हासिल गरिरहेको बताए । गत वर्षको एसइईमा चार जिपिए ल्याउने सलिना खत्रीलाई विद्यालयले यसै अवसरमा रु १ लाख १ हजारसहित सम्मानपत्रले सम्मान गरेको छ। यस्तै गणित विषयमा २८ जना विद्यार्थीले चार जिपिए ल्याएकोमा गणित विभागका दुई शिक्षक, सहप्राचार्य मन बहादुर भुजेल तथा गुरुप्रसाद घिमिरेलाई रु २५ हजार र सम्मानपत्रले सम्मान गरिएको छ । सो अवसरमा २० वर्ष सेवा गरेका सहप्राचार्य मुकेश कुमार अधिकारीलाई दीर्घ सेवा सम्मान गरिएको छ ।

अध्यक्ष पालिखेले हाल विद्यालयमा साढे १२ सय विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिदैं सामाजिक उत्तरदायित्व बहन गर्दै कास्कीको उत्तरी क्षेत्रमा रहेको वाराही प्रावि, हिमालय प्राविलाई शैक्षिक सामग्री, पोशाक र खाजा खर्चका लागि सहयोग गर्दै आएको बताए । सो अवसरमा ती विद्यालयहरुका लागि विद्यालयको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तर्फबाट गर्भनर दुर्गाप्रसाद हुमागाई तथा फष्ट लेडि सरिता हुमागाईको तर्फबाट सरिता हुमागाईले वाराही प्रावि र चुरुङगाको धारा प्राविलाई ३०÷३० हजारको दरले ६० हजार हस्तान्तरण गरिन् । सो रकम राम आचार्य तथा धारा आधारभूत बिद्यालय व्यबस्थापन समितिकाका अध्यक्ष माधवप्रसाद गौतमलाई हस्तान्तरण गरिएको हो । गौतमले बिद्यालय परिवारलाई धन्यवाद दिदै अध्यक्ष पालिखेले आफुले राखेको सहयोगको प्रस्तावलाई विगतका बर्ष देखि विभिन्न बिद्यालयमा सहयोग गर्दै आएको जनाए ।

यस्तै विद्यालयको तर्फबाट भुर्जुङखोलास्थित माछापुच्छ्रे माविका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर गुरुङलाई रु ५१ हजार सहयोग प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर सुवेदीले देशमा मा भई अन्तराष्ट्रिय छवि बनाईको कुमुदिनीले अबका दिनहरुमा पनि ३९ वर्षसम्म आउँदाको साखलाई जोगाउदै समय सापेक्ष अध्ययन, अध्यापन गराउन सुझाए । म अशोक सरको प्रगतिको प्रतिवेदन सुन्दा र यहाँ आएर बुझ्दा निकै खुसी लाग्यो । अहिलेसम्म राम्रो छवि बनाएको यस विद्यालयले त्यो छविलाई झन् उज्यालो बनाउदै जानुपर्ने र दाग लाग्न नदिनेमा सचेत रहन अनुरोध गरे । उनले शिक्षण सिकाईका नयाँ नयाँ कुराहरु अवलम्बन गर्नुपर्ने, तथ्यगत, प्रमाणमा आधारित सिकाई हुनुपर्ने, अध्ययन, अनुसन्धानात्मक हुनुपर्ने र प्रयोगात्मक सिकाई तथा मूल्यांकनमा ध्यान दिन सल्लाह दिए । उनले शिक्षाको उज्यालो फैलाईरहँदा समाजसंगको सम्बन्ध र आवश्यक विद्यालहरुको उन्नतीको लागि सकेको योगदान गर्नबाट पछि नहट्न आग्रह गरे । अभिभावकको तर्फबाट डा।सिर्जना खत्रीले छोरी सलिनाले गत वर्षको एसइईमा चार जिपिए ल्याउनुमा परिवारको सहयोग त छँदैछ अझ बढी विद्यालय र शिक्षकको उत्प्रेरणाले त्यो संभव भएको बताईन् । उनले घरमा सबै अभिभावकले आफ्ना बच्चाहरुको मनोवल बढाउने गरी व्यवहार गर्न अभिभावकहरुलाई अनुरोध गरिन् । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पत्रकार राज बहादुर गुरुङले विद्यालयको ३९ औं वर्षगाँठ ऐतिहासिक दिन भएको बताए । उनले आगामी दिनहरुमा अझै प्रगति र विद्यालयप्रति शिक्षक, विद्यार्थी र अभिभावकको लगावको साईनो बलियो भईरहने विश्वास व्यक्त गरे ।

प्याव्सनका केन्द्रीय समितिका सल्लाहकार बीर बहादुर बुढाथोकीले गण्डकी प्रदेशमा कास्कीको पोखरामा रहेको कुमुदिनी होम्स एउटा नक्षत्रको रुपमा रहेको बताए । उनले अशोक सरको लागव, अहोरात्रको मेहनत, व्यवासायिकता लगायतका कारणले संभव भएको बताए । उनले कुमुदिनी फिडर विद्यालयको रुपमा रहेको र साइन्स पढ्नका लागि विद्यार्र्थीहरु कुमुदिनीमा ल्याउने गरेको बताए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफु पनि यही विद्यालयको १२ वर्षसम्म अभिभावक रहेको र आफ्ना तीन बाबुनानीले उत्कृष्ट नतिजा ल्याउदै तीनै जना अहिले डाक्टर पढ्दै गरेको सुनाए । संस्थापक अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको समापन सह प्राचार्य मन बहादुर भुजेलले गरेका थिए । सो अवसरमा उनले २०४४ सालमा स्थापना भएको विद्यालयले “शिक्षामा अस्तित्व, कुमुदिनीको नेतृत्व” भन्दै अगाडि बढेको बताए । उनले विद्यालयबाट उत्पादित विद्यार्थीहरु अब्बल पाईलट, अभिनेता, क्याप्टेन, बैंकर लगायतका विशिष्ट ओहोदामा पुगको सुनाए । कार्यक्रममा सहभागीलाई कक्षा १२ विज्ञान संकायकी इरिन गुरुङले स्वागत मन्तव्य राखेकी थिइन भने शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।