
दीननाथ बराल,
पोखरा, १२ फागुन
पर्यटनको राजधानी पोखरामा यूरो–६ मापदण्डका अत्याधुनिक लक्जरी बस भित्रिएका छन् । गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनका लागि बातास कमर्सियल भेईकल्स प्रालि को अधिकृत विक्रेता अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बी–६ लक्जरी बस गण्डकी प्रदेशमा भित्राएको हो ।
उक्त ६ वटा बस स्वीफ्ट होलिडेज प्रालि ले खरिद गरिसकेको छ भने उक्त बसहरू चाँडै पोखरा–काठमाडौं रुटमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्वीफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपाललाई मंगलबार एक समारोहका बिच बसको साँचो हस्तान्तरण गर्नुभयो । अध्यक्ष पौडेलले यूरो–६ मापदण्डका गाडी वातावरणमैत्री र सुरक्षित रहेको दाबी गर्दै कार्वन उत्सर्जन कम गर्ने, इन्धन खपत घटाउने तथा उच्च सुरक्षा सुविधा भएको दाबी गर्नुभयो । “ छुट पुट घटना बाहेक अहिले पोखरा–काठमाडौं यात्रा असुरक्षित महशुस भइरहेको छ । यूरो–६ मापदण्डको यो गाडीले यात्रा सुरक्षित र आरामदायी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं,” उहाँले भन्नुभयो । ४० सिट क्षमताको बसले पोखरा–काठमाडौं दूरी ५ देखि बढीमा ६ घण्टाभित्र पार गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यात्रुको सहुलियतका लागि भाडादर १ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
प्रत्येक बसको मूल्य करिब १ करोड ३० लाख रुपैयाँ रहेको छ । नेपाल भित्र्याउँदा राज्यले २० प्रतिशत कर छुट दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । “दश वर्षसम्म अन्यत्र बिक्री नगर्ने शर्तमा छुट दिइएको हो,” उहाँले बताउनुभयो । इभी बसतर्फ जान नसकिएको विषयमा उहाँले चार्जिङ पूर्वाधारको दिगोपनाको अभाव औंल्याउँदै सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो । चालक तथा सहचालकलाई तालिम, नियमित चेकिङ र परामर्शमार्फत सुरक्षित सेवा दिने प्रतिबद्धता पनि कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।
स्वीफ्ट होलिडेजका प्रबन्ध निर्देशक मिलन नेपालले सन् २०१८ देखि पोखरा–काठमाडौं, चितवन र लुम्बिनीसम्म सेवा दिँदै आएको उल्लेख गर्दै नयाँ बसले यात्रुलाई थप आराम र सुरक्षा दिने बताउनुभयो । एयर सस्पेन्सन प्रणालीका कारण यात्रा थप सहज हुने तथा कार्वन उत्सर्जन ८५ प्रतिशतसम्म घट्ने उहाँको दाबी छ । कम्पनीले निकट भविष्यमा पोखरा–चितवन र पोखरा–लुम्बिनीमा समेत दिवा तथा रात्रिकालीन सेवा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । गण्डकी प्रदेशको पर्यटन तथा यातायात क्षेत्रमा यस कदमले नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।




