
पोखरा,
पोखरा मासवारमा रहेको स्टेप–बाई–स्टेप माध्यमिक विद्यालयमा बार्षिक खेलकुद महोत्सव २०८२ आज पोखरा रङ्गशालामा विशेष समारोहका बीच सुरु भएको छ। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, संस्थापक प्राचार्य निर्मला बराल, सह–प्राचार्य दिपक गिरी र को–अर्डिनेटर सूर्य प्रसाद लम्सालले संयुक्त रूपमा बेलुन उडाउँदै तीन दिने खेलकुद महोत्सवको उद्घाटन गर्नुभयो।
महोत्सव अन्र्तगत सिनियर र जुनियर वर्गका विद्यार्थीहरू बीच फुटबल, क्रिकेट, टेबल टेनिस, बास्केटबल, कबड्डी, खो–खो, ब्याडमिन्टन, १००, २००, ४००, ८०० र १६०० मिटर दौड, ४×१०० मिटर रिले, म्युजिकल चेयर, चम्चा दौड, बेलुन फुटाई र मिठाई दौड जस्ता विभिन्न खेलहरू सञ्चालन हुने विद्यालयले जनाएको छ। मंगलबारका दिन बास्केटबल, म्युजिकल चेयर, चम्चा दौड, बेलुन फुटाई, १००, २००, ४००, ८०० र १६०० मिटर दौड तथा ४×१०० मिटर रिलेका प्रारम्भिक खेलहरू सम्पन्न भएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक निर्देशक रमाकान्त बरालले ूस्वास्थ्यका लागि खेलू भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विद्यालयले विद्यार्थीको स्वास्थ्य तथा समग्र विकासका लागि खेलकुदलाई विशेष महत्व दिएको बताए। त्यसैगरी, संस्थापक प्राचार्य निर्मला बरालले खेलकुदले राष्ट्र परिचित बनाउन ठूलो भूमिका खेल्ने बताउँदै विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू विभिन्न क्लबहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीका रूपमा स्थापित हुन सफल भएको उल्लेख गरिन्।
सह–प्राचार्य दिपक गिरीले शिक्षा र खेलकुद एक–अर्काको पूरक भएको बताउँदै विद्यालयले वर्षभरि नै निश्चित समय तालिका बनाएर खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए। विद्यार्थीहरूको खेलकुद सीप विकासका लागि यस्ता प्रतियोगिताहरू उपयोगी हुने भएकाले अनुशासित भई सक्रिय सहभागिता जनाउन उनले आग्रह गरे। विद्यालयका को–अर्डिनेटर सूर्य प्रसाद लम्सालले पनि प्रतियोगिताको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे। पोखरा रङ्गशाला, विद्यालय प्राङ्गण तथा मालेपाटन खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको संयोजक इच्छा घलेले बताए। सह–संयोजक शिक्षक रामचन्द्र शर्माका अनुसार विभिन्न खेलका चरणहरू तीन दिनसम्म सञ्चालन भई मंसिर १७ गते शुक्रबार समापन हुने छ।





