कोरियाबाट फर्किएका श्रमिकहरूको पुनःस्थापना कार्यक्रम पोखरामा सम्पन्न, विदेशको सिप नेपालमा प्रयोग गर्न सुझाव

-


     पोखरा क्लिक     
     मंसिर १४ गते २०८२ मा प्रकाशित


पोखरा,

कोरियाबाट फर्किएका नेपाली श्रमिकको दिगो पुनःस्थापनाका लागि कोइका अन्तर्गत संचालित ‘के–हामी’ परियोजनाले गण्डकी प्रदेशको पोखरामा पुनःस्थापना जानकारी कार्यक्रम हालै सम्पन्न गरेको छ । कार्यक्रमले विदेशी रोजगारपछि स्वदेश फर्किएका श्रमिकलाई उद्यमशीलता, व्यवसायिक योजना तथा सीप विकासमा प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । विदेशमा सिकेका ज्ञान सिपलाई नेपाली भूमिमा लागु गर्न आफुहरुले आग्रह गरिएको अंकुर नेपाल पोखराका अध्यक्ष सुमन बहादुर थापाले बताए ।

थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव कृष्ण प्रसाद सापकोटा रहेका थिए। श्रम विभाग पोखराका वरिष्ठ अधिकृत चण्डिका पौडेल र पोखरा महानगरपालिका–१२ का वडा अध्यक्ष सन्तोष बास्तोला अतिथि रहेको कार्यक्रममा ११२ जना सहभागी थिए।

कार्यक्रममा ‘के–हामी’ परियोजनाका प्रोजेक्ट म्यानेजर स सङ्यल्ले कोरियाबाट फर्किएका श्रमिकहरूको दिगो पुनःस्थापनाका लागि परियोजनाले खेलेको भूमिका तथा आगामी योजनाबारे जानकारी दिए । त्यसैगरी वैज्ञानिक डा। निरन्जन कोईरालाले नेपालमा व्यवसायिक परिवेश, अवसर र आवश्यक रणनीतिबारे प्रस्तुति दिनुभयो भने सर्वोदय ढकालले कोरियामा रोजगारीका अवसर र त्यहाँका चुनौतीहरूबारे विशेष प्रस्तुति दिए ।

कोरिया गएर फर्किएका रितु श्रेष्ठले आफ्नो अनुभव साझा गर्दै कोरियाको श्रमसंस्कृतिले मेहनत, अनुशासन र लगनशीलताको मूल्य सिकाएको उल्लेख गरे । उनले सीप र अनुभवलाई आधार बनाएर सञ्चालन गरेको व्यवसायले सफलता पाएको बताउँदै युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुभयो । कोइका को अनुदानमा नेपाल सरकार र कोरिया सरकारको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम स्थानीय साझेदार संस्था अंकुर नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको हो। संस्थाले कोरियाबाट फर्किएका व्यक्तिहरूलाई उद्यम स्थापना, सीप अभिवृद्धि र समुदाय विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ।

कार्यक्रम संयोजकले पुनःस्थापना जानकारी कार्यक्रमलाई “फर्किएका श्रमिकलाई आत्मचिन्तन, आत्मविश्वास र उद्यमतर्फ प्रेरित गराउने साझा मञ्च” भएको बताए । उक्त कार्यक्रमले श्रमिकलाई उद्यमशील सोच, स्टार्टअप तयारी, व्यवसायिक अवसर पहिचान तथा तिनको प्रभावकारी उपयोगबारे मार्गदर्शन गरेको आयोजकले जनाएको छ। सीपयुक्त जनशक्तिलाई उद्यम र रोजगारी सिर्जनामा प्रवर्तित गर्दै राष्ट्रिय आर्थिक वृद्धिमा योगदान पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको छ। अंकुर नेपाल पोखराका उपाध्यक्ष यम प्रसाद पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सदस्य सुनिल छिनालले स्वागत मन्तव्य राखेका थिए ।



This will close in 20 seconds