
दीननाथ बराल,
पोखरा, १९ असार,
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो निर्माण गरिएको छ । पहिलो पटक शतप्रतिशत नेपाली सीप र पुँजी प्रयोग गरी उक्त डिपो करिब ७५ करोड रुपैयाँ लागतमा (भ्याटबाहेक) उक्त परियोजना निर्माण कार्य सम्पन्न भएको नेपाल आयाल निगमले बिहीबार डिपोमै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।
यस परियोजनाले अब पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई सहज, सुरक्षित र सस्तो इन्धन आपूर्तिको लागि सहज हुने भएको परियोजना प्रमुख प्रदिप कुमार यादवले बताउनु भयो । उहाँका अनुसार उक्त परियोजना आउदो आर्थिक बर्ष साउन महिनाको ढिलोमा दोश्रो हप्तामा औपचारिक उद्घाटन गर्दै सेवा संचालन गर्ने भएको उहाँले दाबी गर्नुभयो ।
नेपाल आयल निगमको ५५ वर्षको इतिहासमा, यो पहिलो पटक आफ्नै प्राविधिक, आफ्नै निर्माण व्यवसायी, आफ्नै स्रोतबाट यस्तो परियोजना सम्पन्न गरिएको प्रमुख ई. यादवले बताउनु भयो । यसलाई “देशकै आत्मविश्वासको प्रतिक” को रुपमा आफुहरुले लिने गरेको उहाँको भनाई थियो । ३६ लाख लीटर क्षमताको विशाल भण्डारण र ९ हजार २१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको डिपोमा १२ लाख लीटर क्षमताका तीनवटा स्टोरेज ट्यांक निर्माण गरिएको प्रमुख ई. यादवले बताउनु भयो ।
अब यहाँबाट नियमित रूपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक इन्धन सजिलै आपूर्ति गर्न सकिने प््राोजेक्ट म्यानेजर अशोक आर्यालले बताउनु भयो । सुरक्षामा उच्च सतर्कताः फोम ट्यांक, पानी ट्यांकी र दमकल संयन्त्र चुष्त दुरुष्त राखिने भएको उहाँले जनाउनु भयो ।
४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्यांक, २३० हर्सपावर क्षमताका दुई फायर फाइटिङ डिजेल पम्प, ५ हर्सपावरको जक्की पम्प, र ८ इन्च व्यासको फायर फाइटिङ पाइपलाइन नेटवर्क यी सबै संयन्त्र मिलेर यो डिपोलाई ‘फुल–प्रुफ’ बनाएको निगमनले जनाएको छ । फोम र पानी मिसाएर फैलिने प्रणालीले आगलागीको जोखिमलाई विश्वस्तरीय ढंगले नियन्त्रण गर्न सक्ने व्यबस्था गरिएको छ ।
डिपो निर्माणको लागि २०७७ मा प्रक्रिया सुरु भए पनि सम्झौता २०७९ कात्तिकमा मात्र भएको थियो। त्यसपछि २०७९ पुसमा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिएर निर्माण अघि बढाइएको थियो। निर्माण शिलान्यास २०८० साउन १ गते तत्कालीन मन्त्री रमेश रिजालले गर्नु भएको थियो ।
इन्जिनीयरिङ अध्ययन संस्थान पुलचोकका सहायक डीन सुरोज लामिछाने नेपालको उक्त परियोजना ऐतिहासिक कार्य सुरुवात भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “यो परियोजनाले नेपाली सीप, प्राविधिक क्षमतामाथि विश्वास बढाएको छ, तोकिएको म्यादभन्दा अगाडि निर्माण सम्पन्न हुनु गर्वको कुरा हो।” सबै संरचना निर्माण सकिएपछि, अब डिपोको औपचारिक उद्घाटन साउनको दोस्रो हप्तासम्ममा गरिने भएको छ । उक्त डिपोमा अग्नी नियन्त्रणको लागि के कस्तो ढंगले आगो नियन्त्रण गर्न सकिन्छ विहिबार डेमा समेत प्रस्तुतः गरिएको कन्सल्टेण्ट हेड नारायण गौतमले बताउनु भयो ।







