
पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ ।
पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु वाङ्मय प्रतिष्ठान, मुक्तक मञ्च नेपाल, जनसाहित्य मञ्च नेपाल, सप्तरंगी साहित्य प्रतिष्ठानलगायतका विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक-साहित्यिक योगदान पुर्याएका छन् ।
वि.सं. २०६९ मा ‘अखण्ड दीप’ कविताकृति प्रकाशित गरेका अल्पायूको ‘न घाम न जून’ मुक्तकसङ्ग्रह भर्खरै पाठकको अदालतमा पुगेको छ । उनका मुक्तक सरसर्ती हेर्दा अल्पायू आफूलाई सचेत मुक्तककारका रूपमा प्रस्तुत गर्न सफल स्रष्टा हुन् भन्न सकिन्छ । अग्र र मुख्यसहित ८८ पृष्ठमा संरचित अल्पायूको मुक्तकसङ्ग्रहको आवरण पृष्ठ कलाकार यादवचन्द्र भूर्तेलको कलाले सजिएको छ ।
आफूलाई नेपाली कलाको विनलादेन हूँ भन्ने भूर्तेलको कलाले मुक्तक कृतिलाई न्याय गरेको देखिन्छ । कृतिको साजसज्जा तथा कागजको गुणस्तरका हिसाबले तीन सय रूपैयाँ मूल्य सुहाउँदो मान्न सकिन्छ । मातापिताप्रति सदा समर्पण भाव राख्ने अल्पायू कृष्ण र अन्नपूर्णका सुपुत्र नै हुन् भन्ने बोध समर्पणबाट प्रष्ट हुन्छ ।
अल्पायूको प्रस्तुत कृतिमा चतुष्पदीय रुबाई र स्वतन्त्र संरचनामा लेखिएका दुई सय मुक्तक रहेका छन् । उनले वर्तमान युगजीवनको चित्रलाई जस्ताको तस्तै देखाएका छन् । एकातर्फ छिमेकीले राष्ट्रियता लुटिरहेको छ अर्कातर्फ टोल, छिमेक, राज्य तथा देशमा हिजो गरिएका कुरा साँचा थिए तर आज व्यवहार त्यो छैन ।
आजको व्यवस्था ल्याउन हिजोको अवस्थालाई दोष लगाइएको कुरा ठीक थियो । विभिन्न कालक्रममा भएका सङ्घर्ष पनि ठीक थिए तर आज व्यवहार ठीक देखिएको छैन । प्रायः अपराधीहरू देशका नेता छन् । तिनले जनतालाई भेडा बनाएका छन् । चुनावका दिन एक हात मासुभात, अर्को हात धनको गाँठ गरेर सत्ता हत्याइरहेका छन् ।
नेताले जनताको भाग्य लुटिरहेका छन् । नागरिकताविहिन बनाएर बेचिरहेका छन् । हिजोका सामन्त भनिएकाहरूले जोगाएर राखिदिएका उद्योग, कलकारखाना रहेका जग्गाजमिन बेचेर खाइरहेका छन् । राज्यको ढुकुटी सकेर जनताले पालेका जननेता घरमा पालेका पाल्तु जनावर जत्ति आफ्नो कर्ममा वफादार हुन सकेका छैनन् । चोर, डाँका र तस्करका रक्षक भइरहेको दृष्टान्त हालसालैका घटनाक्रम कुलिङ पिरियड र संवैधानिक निकायमा गरिएका नियुक्तिको फैसलाले प्रष्ट पारिरहेको छ । अब यसरी हुँदैन जुर्मुराउनुपर्छ भन्ने दृष्टान्तलाई अल्पायूले आफ्ना मुक्तकमा यसरी अभिव्यक्त गरेका छन् :
हिजो भए गरेका कुरा साँचा थिए
आज खै त्यो चाबी कसले लिए
आज कसले पियो र कसले पियाइदिए
रात बित्न नपाउँदै यहाँ कुरा फेरिए (पृ.५) ।
हाम्रा भाला, तीर, खुकुरी अब जम्मा गरौँ
देशका लागि लडौँ अब हामी बाँचौँ वा मरौँ
इतिहास रच्ने बेला अब हाम्रो आएको छ
तितामिठा ती भाषणको अब भर नपरौँ (पृ.८) ।
छिमेकी हुन् भन्ठानेर चुप रह्यौ हामी
लुट्न थाल्यो हाम्रो जीवन उसले छानी–छानी
माल पाएर चाल नपाउने देख्यो उसले हामीलाई
लुट्यो उसले जानेरै हो हाम्रो आनीबानी (पृ.२३)
घर पोलेर खरानीमा रमाउनेहरू
लाज बचेर डुङडुङ गनाउनेहरू
अझै आफ्नै तारिफमा मस्त छन्
ढुकुटी रित्तो पारी कुम्ल्याउनेहरू (पृ.३७) ।
देश दुख्नुका पीडा मात्र अल्पायुका मुक्तकमा छैनन् । उनी मेहनतले मान्छेलाई महान् बनाउनेमा ढुक्क छन् । भाग्यमा भएको कुरा कसैले मेटेर मेट्न नसक्ने भएकाले कर्म गर्न छोड्न हुँदैन भनेर कर्ममा लाग्न प्रेरित गर्दछन् । यसो उसो भनेर गरिने हल्लाखल्ला त बहानाबाजी मात्रै हुन् भन्दै यसरी कर्मवादी बन्न भन्छन् :
धनको घमण्ड जति गरे पनि तर मृत्यु किन्न सकिँदैन
गरिब भनेर हेला गरे पनि उसको भाग्य चिन्न सकिँदैन
आफ्नो कर्म त छैँटीँमा भावीले लेखिदिएको हुन्छ हेर
त्यसलाई त जुनसुकै ताकतले पनि छिन्न सकिँदैन (पृ.४१)
हामीले आफ्नो कर्म गर्न छाड्न हुँदैन । कर्ममा लाग्दालाग्दै कर्मको फलमा अर्कैले अधिकार जमाउन खोज्दा कहिलेकाहीँ विरक्त लाग्नु वर्तमानको यथार्थ पनि हो ।
जिन्दगीमा काम गर्ने कालु मकै खाने भालु भन्ने यथार्थ चरितार्थ हुँदा अल्पायूलाई पीडाबोध हुने तथ्य स्रष्टाको जीवनमा मडारिएको कालो बादल मात्र होइन । आज नेपाल आमाको भाग्य, भरोसा र भविष्य माथिकै कालो बादल भएर रहेको छ । केही होला भन्ने आशा पालेर बसेका जनतामा दिनप्रतिदिन निराशाको बादल मडारिएको छ । कहिले कुन नामका, कहिले कुन नामका थरीथरी दलका अप्राकृतिक ठगबन्धनले नेपाल आमालाई लुछिरहेका छन् । उक्त सन्दर्भलाई अल्पायूले मानवीय र नेपाल आमाको मुहारचित्रलाई एकैसाथ यस्तो सम्बोधन गर्दछन् :
केलाई खेपु रातो माटो घरै ढलेको छ
मन भित्रै पोल्ने गरी आगो जलेको छ
सबै भए हेर्ने मात्र पाइन कोही निभाउने
त्यसैमाथि चारैतिर हावा चलेको छ (पृ.६३) ।
विद्यालयतहबाटै साहित्य सिर्जनामा रुचि राख्दै आएका अल्पायूका मुक्तक राष्ट्र र राष्ट्रियताको भावनाले भरिएका छन् । उनका मुक्तकले यहीँ धरतीको माटो र बाटोलाई सुम्सुम्याएका छन् ।
देशमा आज सबै कुरा छ, जनताले चुनेका नेता छन्, जनताका छोराछोरी शासक छन् तापनि तिनै जनताका छोराछोरीको राज्यलाई कर तिरेका जनताले भर पाएका छैनन् । बल्ब छ; बिजुली छैन, धारा छ; पानी छैन, पूर्वाधार छ; सुधार छैन, सञ्चार छ; सुविधा छैन किनकि सबै कुरा कागजमा छ व्यवहार र उपभोगमा शून्य छ । तापनि गृष्म ऋतु लागेर हिमालले घाम देखे जसरी मुक्तकमा सुनौलो भविष्यको आशा यसरी जगाउँछन् :
बिहानीको सिरेटोले कता कता सेके जस्तो छ
यिनै टाँकुरा र टाँकुरीले घाम छेके जस्तो छ
अब त गृष्म ऋतु पनि लागिसक्यो क्यारे साथी
हिमालले कता कता घाम देखे जस्तो छ (पृ.५६) ।
आफ्नो लेखनलाई परिस्कृत र परिमार्जित बनाउँदै आएका अल्पायूको साधना र संगतको फल उनका मुक्तक चोटिला र रसिला छन् । कलात्मक अभिव्यक्तिले भरिएका छन् । हिजो भन्दा आज र आज भन्दा भोलि उनको लेखन बलशाली भएर अगाडि बढ्ने पक्का छ । निरन्तरको साधनाबाटै सिर्जनाले नयाँ उचाई निर्धारण गर्ने भएकाले अल्पायूको बाँकी जीवन थप सिर्जनशील र क्रियाशील भएर बितोस् हार्दिक शुभेच्छा !



