
संघीय बजेट बाँडफाँडमा पहुँचको आधारमा शक्तिशाली नेताले आफ्नो निर्वाचन क्षेत्रमा योजना लगेजस्तै प्रदेशको सामान्य कार्यक्रम पनि पहुँचवाला नेताको जिल्ला केन्द्रित छ ।
काठमाडौँ–बागमती प्रदेशको सबैभन्दा भाग्यमानी जिल्लाको रूपमा धादिङलाई लिने गरिन्छ । पछिल्लो सात वर्षमा धादिङले दुई जना मुख्यमन्त्री पाइसकेको छ । धादिङले मुख्यमन्त्री मात्रै पाएको छैन । विकासको योजना थुपार्न सफल पनि भएको छ ।
बागमती प्रदेशले शिक्षामा गरेको लगानी र उपलब्धिको विश्लेषण गर्दा धादिङमा अन्य जिल्लाको तुलनामा बढी योजना पारेको देखिन्छ । धादिङमा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र पाण्डे ०७८ कातिक ११ देखि ०७९ पुस २४ सम्म मुख्यमन्त्री भएका थिए । उनी पछि माओवादीबाट शालिग्राम जम्कट्टेल २०८१ साउन ७ सम्म मुख्यमन्त्री भएका थिए । उनीहरूले आफू मुख्यमन्त्री भएको बेला अनिवार्य तथा निःशुल्क शिक्षाको योजना अन्य जिल्लाको तुलनामा दोब्बर लगेका छन् । पाण्डेले दुई र जम्कट्टेलले चार वटा विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षाको योजना लान सफल भएको शिक्षा विकास निर्देशनालयको तथ्याङ्कबाट देखिन्छ ।
संघीय सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन लागू गर्न योजना बनाइरहेको बेला प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि नै यो योजना अघि सारेको थियो । १० वटा जिल्लामा लागू भएको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम आर्थिक वर्ष ०७९/८० मा ११ वटा पालिकामा र गत वर्ष १८ वटा पालिकामा लागू भएको थियो ।
बागमतीको एक सय १९ स्थानीय तह मध्ये यो योजना २९ वटा पालिकामा लागू भएको छ । यो कार्यक्रम सहरमा शुल्क लिने सामुदायिक विद्यालयमा नभई गाउँमा निःशुल्क पढाइरहेका विद्यालयमा लागू भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
स्थानीय तहले यो कार्यक्रम सञ्चालन गर्न तयार भएको प्रतिबद्धता पेस गरेपछि मात्रै प्रदेशले अनुदान दिने गरेको निर्देशनालयका महानिर्देशक खुबीराम अधिकारीले बताए ।
प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालन गर्न यस वर्ष नौ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताइन । ‘सहरका भन्दा पनि दुर्गमका सामुदायिक विद्यालयको गुणस्तर उकास्न प्रदेश केन्द्रित रहेको छ,’उनले भनिन् ।
जसरी अनिवार्य तथा निःशुल्क शिक्षाको बजेट धादिङ केन्द्रित गरेको छ, त्यसै गरी शिक्षक अनुदानको बजेट पनि धादिङमै केन्द्रित छ । धादिङमा जस्तै नुवाकोटमा पनि बजेटको चाङ थपिएको छ । जम्कट्टेल पछि नुवाकोटका बहादुर सिंह लामा ०८१ साउन ८ देखि मुख्यमन्त्रीमा नियुक्ति भए । शिक्षक नियुक्तिको बजेट धादिङ पछि सबैभन्दा बढी नुवाकोटमा वितरण गरेको छ ।
निर्देशनालयका महानिर्देशक अधिकारीका अनुसार प्रदेशमा दुई ७७ विद्यालयमा शिक्षक अनुदान वितरण गरेकोमा धादिङमा ४८ र नुवाकोटमा ४७ वटा विद्यालयमा छन् । यो सिङ्गो प्रदेशमा वितरण गरेको शिक्षक अनुदान कोटाको ३४ प्रतिशत दुई जिल्लामा मात्रै छ । रसुवा, काभ्रेपलान्चोक, दोलखा, रामेछापमा भने कमै विद्यालयमा अनुदान उपलब्ध छ ।
संघीय सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै भन्ने योजना अघि सारेको थियो । राष्ट्रपति शैक्षिक कार्यक्रम नै स्थगित भए पछि पढ्दै कमाउँदै कार्यक्रम नै रोकियो तर, प्रदेशले भने गाउँ केन्द्रित गरेर यो कार्यक्रमलाई अघि बढाएको निर्देशनालयले जनाएको छ । सिक्दै कमाउँदै कार्यक्रममा पनि नुवाकोट केन्द्रित छ ।
।
११ वटा जिल्लाको ३० विद्यालयमा यो कार्यक्रम लागू भएकोमा नुवाकोटमा मात्रै सात वटामा छ । त्यस्तै धादिङमा चार वटा विद्यालयमा यो कार्यक्रम लागू भएको छ । अन्य जिल्लामा भने न्यून छ ।
‘यो कार्यक्रमले विद्यार्थीले पढाइको साथै कसरी कमाउने भन्ने पनि सिकिरहेको मैले पाए,’मन्त्री खड्गीले भनिन्,‘अहिले सबै जिल्लामा समानुपातिक नहुन सक्छ । यसलाई अझ बिस्तार गर्दै जान्छौ ।’ प्रदेशले सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रममा यस वर्ष चार करोड १० लाख बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेशको पूर्व मुख्यमन्त्री जम्कट्टेलले आफू मुख्य मन्त्री भएको बेला पहुँचको आधारमा भन्दा पनि समानुपातिक वितरणको क्रममा भएको दाबी गरे । ‘मेरो जिल्ला भनेर बढी योजना परेको छैन,’उनले भने,‘आवश्यकताको आधारमा वितरण गरिएको हुन्छ । मलाई थाहा पनि हुँदैन ।’
मुख्यमन्त्रीकै जिल्लामा बसको लस्कर
बागमती प्रदेशले ९७ वटा विद्यालयमा स्कुल बस बाडेको निर्देशनालयले जनाएको छ ।
स्कुल बस वितरणको सुची अनुसार सबैभन्दा बढी पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको मकवानपुरमा सबैभन्दा बढी १८ वटा बस वितरण भएको छ । त्यसपछि काभ्रेपलान्चोकमा १२, सिन्धुलीमा १० वटा बस वितरण गरेको महानिर्देशक अधिकारीले बताए । सबैभन्दा कम रसुवा र ललितपुरमा तीन/तीन वटा स्कुल बस वितरण गरिएको छ ।
उत्कृष्ट विद्यालय बागमतीमै
गत वर्षको एसईईको नतिजाको आधारमा भक्तपुरको मेधा माध्यमिक विद्यालय मुलुककै उत्कृष्ट भएको छ । देशभरको ६ हजार ८ सय ४६ सामुदायिक विद्यालयले १० कक्षाको परीक्षामा सहभागी भएकोमा सबैलाई पछि पार्दै भक्तपुरको मेधा उत्कृष्ट भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एक सय भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी गराएर सत प्रतिशत विद्यार्थी पास गराउने मेधा मात्रै हो । उसले एक सय १५ विद्यार्थी परीक्षामा सहभागी गराएर सत प्रतिशत नतिजा मात्रै नभई ३.२० जिपिए भन्दा माथि जिपिए ल्याउने एक सय ११ जना (९६ प्रतिशत) छन् ।
‘मैले सबै ठाउँमा मेधाको उदाहरण दिएर सुधारको लागि सुझाव दिने गरेको छु,’मन्त्री खड्गीले भनिन् ।
त्यस्तै १२ कक्षाको नतिजाको आधारमा सामुदायिक तर्फ काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय देशकै उत्कृष्ट तेस्रोमा परेको छ । ४ हजार ५ सय विद्यार्थी भएको यो विद्यालय हरेक वर्ष उत्कृष्ट भित्र परेको छ । ‘प्रदेश र संघीय सरकारले गरेको मुल्याङकनमा हाम्रो विद्यालय हरेक वर्ष उत्कृष्ट भित्र पर्दै आएका छौ,’प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्,‘हामीले गरेको कामको मुल्याङकन तीनै तहको सरकारले गरेकै कारण काम गर्न सबै शिक्षकलाई हौसला मिलेको छ ।’
एसईईको नतिजामा बागमती पहिलो यी विद्यालयको मात्रै नभई गत वर्षको एसईई नतिजाको आधारमा सात प्रदेशमा बागमतीकै उत्कृष्ट नतिजा आएको छ । बागमतीबाट परीक्षा दिएका मध्ये ६६.३१ प्रतिशत उत्तीर्ण भएका हुन् ।
।
यो अरू प्रदेशको भन्दा बढी हो । ९९ हजार आठ सय ७२ जनाले परीक्षा दिएकोमा ३३ हजार ६ सय ४३ विद्यार्थी एनजी आएको थियो । देशभरबाट औसतमा ४८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड हुँदा बागमती र गण्डकीको नतिजा मात्रै औसत कटाएको छ ।
कक्षा १० को नतिजा मात्रै होइन, १२ कक्षाको नतिजाले पनि बागमतीको सिकाई अब्बल देखिएको छ । औसतमा ५२ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा कोशीमा ४४.३८, मधेशमा ४६.२५, गण्डकीमा ५३.८०, लुम्बिनीमा ४८, कर्णालीमा ४१, सुदूरपश्चिममा ३९ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा बागमतीमा ६७ प्रतिशत छ । त्यस्तै उच्च जिपिए ३.६१ देखि ४ ल्याउने अरू प्रदेशमा चार पनि नाघेको छैन भने बागमतीमा ८.६४ छ ।
साक्षरता दरमा पनि अगाडि
मुलुकको पहिलो साक्षर जिल्लाको रूपमा सिन्धुपाल्चोकलाई लिइन्छ । दोस्रो जिल्लामा ललितपुर घोषणा भएको थियो । शिक्षा विकास तथा मानव स्रोत केन्द्रका अनुसार अब १२ जिल्ला मात्रै साक्षर घोषणा हुन बाँकी छ । मधेशको आठ जिल्ला नै साक्षर जिल्ला घोषणा हुन सकेको छैन । राष्ट्रिय जनगणना ०६८ को तथ्याङ्क अनुसार औसत साक्षर दर ७६.२ प्रतिशत छ । यसमा कोशीमा ७९.७, मधेशमा ६३.५, बागमतीमा ८२, गण्डकीको ८१.७, लुम्बिनीमा ७८.१, कर्णालीमा ७६.१, सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षर छन् । यसले बागमती प्रदेश साक्षर दरको सबैभन्दा उच्च देखिन्छ ।
त्यस्तै महिला साक्षर दर पनि बागमती नै अगाडि छ । अरू प्रदेशमा महिला साक्षरता दर ७५ प्रतिशतसम्म छ भने बागमतीमा ७६ प्रतिशत छ । ‘५ वर्ष उमेर देखि माथिको जनसंख्याको साक्षरता दर सत प्रतिशत पुर्याउन प्रदेश सरकारले स्थानीय र संघीय सरकारसँगको सहकार्य र साझेदारीमा थप कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ,’अधिकारीले भने ।
गुणस्तर परीक्षणमा पहिलो बागमती
शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको विद्यार्थी सिकाई उपलब्धि परीक्षण, सामुदायिक विद्यालयको व्यवस्थापन, प्रशासन, लगानी, प्रक्रिया र प्रतिफल, प्रधानाध्यापकको कार्य सम्पादन स्तर परीक्षण, प्रारम्भिक बाल विकास केन्द्रको कार्यसम्पादन र बालबालिकाको विकास स्तर परीक्षणमा पनि बागमती अगाडि देखिएको छ ।
त्यस्तै कक्षा ३ को पढाई र गणितीय सिपको राष्ट्रिय परीक्षणमा भने गण्डकी अगाडि छ । दोस्रो बागमती छ । कक्षा ८ को सिकाई उपलब्धिमा पनि बागमती नै अगाडि छ । २८ जिल्लाको विद्यार्थीको सिकाई परीक्षण गर्दा औसत भन्दा बढी सिकाई हुने पाँच जिल्ला छन् । यसमा बागमतीको भक्तपुर, ललितपुर, काठमाडौँ रहेको छ । सबैभन्दा कमजोरमा डोल्पा, तेह्रथुम, मुगु, सुर्खेत, रसुवा, पाँचथर, ताप्लेजुङ, रुकुम, दाङ, बाजुरा, सर्लाही, रुपन्देही देखिएको छ ।
एसईई, १२ को कक्षाको नतिजा, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनले बागमती अरू प्रदेश भन्दा शिक्षामा अब्बल देखिएको छ । मुलुकको शिक्षाको सुचाङक केलाउँदा थाहा हुन्छ सात प्रदेश मध्ये बागमतीको सुधारको सुचाङक उच्च छ, बागमतीको शिक्षामा जे जति सुधार देखिएको छ केन्द्रीय राजधानीसँग जोडिएर भएर मात्रै होइन प्रदेश सरकारले अघि सारेको विद्यालयको कक्षाकोठामै पुग्ने योजनाको प्रभाव देखिन थालेको छ । बजेटको हिसाबमा प्रति विद्यार्थी लगानी बागमतीको भन्दा गण्डकी र कर्णालीमा बढी छ ।
यस वर्षको बजेट हेर्ने हो भने विद्यालय तहमा सशर्त अनुदानमा चार अर्ब ६१ करोड ७१ लाख ९२ हजार छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५३ लाख २२ हजार तीन सय ५२ छन् । यस अनुसार प्रति विद्यार्थी राज्यको लागत ८६ हजार सात सय ५० पर्न आउँछ ।
राष्ट्रिय र बागमतीको सूचक तुलना गर्दा अधिकांश बागमतीकै अगाडि छ । इसीडी तहमा भर्नामा राष्ट्रिय ९९.९ हुँदा बागमतीको १०९.९ प्रतिशत छ । कक्षा १ मा भर्ना दर, आधारभूत तहमा सिकाइका लागि आधारभूत र माध्यमिक तहको सिकाईको मापदण्डमा बागमती कमजोर छ ।
सिकाई कमजोर भएका विद्यालयमा विद्यार्थी केन्द्रित योजना
प्रदेशको शिक्षा नीतिमा सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउने, कम विद्यार्थी भएको विद्यालय अर्कोमा गाभेर नमुना आवासीय विद्यालय बनाउने योजना पनि कार्यान्वयन भइरहेको मन्त्रालयको प्रगति विवरणमा समेटिएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि प्रदेश अन्तर्गत १२ जिल्लाका २० वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा छनोट गरी सञ्चालनमा ल्याएको थियो ।
८४८ विद्यालयमा नर्स
बागमती प्रदेश ६ वर्षअघि सुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रम १३ जिल्लाको ११९ पालिकामै पुर्याएको छ । एक हजार तीन सय ६२ माध्यमिक तहको विद्यालय रहेको बागमतीमा ६२ प्रतिशत नर्स कार्यक्रम पुर्याएको छ । प्रदेशको सबैभन्दा बढी विद्यालय काठमाडौँमा १ सय ७९ विद्यालय मध्ये एक सय आठ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।