
पृष्ठभूमि
चन्द्र, पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह, जसलाई नवग्रहमध्ये रानी मानिन्छ । काल पुरुषको मन र शिवजीले आफ्नो जटामा स्थान दिइएकाले सोम पनि भनिन्छ । यहाँको सन्दर्भ ज्योतिष एवम् विज्ञानसँग जोडिएर आउने चन्द्र ग्रहको नभएर चन्द्रसँग जोडिएको नाम भएकी चन्द्रावती अधिकारी वाग्लेको हो । केही वर्ष अगाडि उनको तीजेगीतका सन्दर्भमा चन्द्रावतीलाई लोक संस्कृति संरक्षणको उदाउँदो चन्द्रका रूपमा पाएको थिएँ । आज उनैको ‘अक्षरको आगो’ मुक्तक कृति हेर्ने सौभाग्य जु¥यो, जहाँ चन्द्रावतीले अक्षरका माध्यमबाट वर्तमान यथार्थको आगो ओकलेकी छन् ।
स्रष्टा सन्दर्भ
पिता मित्रलाल र माता सरस्वती अधिकारीको कोखबाट २०२८ मंसिर १८ गतेका दिन यस धरतीमा पाइलो पारेकी चन्द्रावतीले राजनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरेकी मात्र छैनन् । नेपाल सरकारको अधिकृतस्तरको जागिरे जिन्दगीलाई पनि अगाडि बढाइरहेकी छन् । व्यवहारिक जिन्दगीका तमाम आयामलाई उसिनपसिन पार गर्दै बढेकी वाग्लेले २०७५ सालदेखि नेपाली वाङ्मय क्षेत्रका कविता, गीत र काव्यका माध्यमबाट आफूलाई सचेत सर्जकका रूपमा चिनाउँदै आएकी छन् ।
चन्द्रावती सर्जक मात्र नरहेर कस्केली अधिकृत समाज, गीताञ्जली साहित्य परिवार, नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, माधव वियोगी वाङ्मय प्रतिष्ठान, नेपाली लेखक संघ कास्की, गोर्जे–मिजुरे पोखरा सम्पर्क समाज, तनहुँ सम्पर्क समाज, विश्वहिन्दू महासंघ, न्यूरोड महिला उत्थान मञ्च, रेडियो सफलतालगायतका संघसंस्थामा आवद्ध छन् । जहाँ संलग्न रहेर लक्ष्य प्राप्तिका कर्ममासमेत जुट्दै आएकी छन् । कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुका साथै सोसल आइडल अवार्ड, सङ्घर्षशील नारी सम्मान जस्ता विभिन्न सम्मानबाट पनि उनी विभूषित भइसकेकी छन् । गर्भका सन्तान आशिष र अनुपालाई क्रमशः इन्जिनियर र डाक्टर उपाधि ग्रह्णका लागि योग्य बनाउने सामथ्र्य बोकेकी वाग्ले नेपाली वाङ्मय क्षेत्रमा उस्तै सम्भावनाको क्षितिज नियाली रहेकी छन् ।
विषय प्रवेश
मानव हृदयलाई स्पर्श गर्ने व्यवहारिक जीवनका विविध सन्दर्भको चोटिलो प्रस्फुटन नै मुक्तक हो । यसैले आजसम्मको जीवनयात्रामा देखेका, भोगेका र अनुभूति गरेका हाम्रै समाजको यथार्थ चित्र नै चन्द्रावती अधिकारी वाग्लेका मुक्तकका विषयवस्तु बनेका छन् । पछिल्लो पुस्तामाझ लोकप्रिय चुतष्पदीय रुबाई संरचनामा संरचित उनका मुक्तकमा प्रयुक्त भाषाशैली सरल, सरस, सहज र प्राञ्जल छ ।
चन्द्रावतीका मुक्तकले सभ्य, सु–संस्कृत, समतामुलक समाज निर्माणमा जुट्न आह्वान गरेका छन् । हाम्रा मौलिक, संस्कार, संस्कृति संरक्षणमा जाग्न भनेका छन् । देशको माउ नीति मानिएको राजनीतिमा देखिएका विचलनले देशलाई खराब मार्गतर्फ डो¥याएकामा गहिरो चिन्ता व्यक्त भएका छन् । हर समय आफ्नो व्यक्तिगत स्वार्थका लागि विकृति मानसिकता बोकेर हिँड्नेहरूलाई खबरदारी गरेका छन् । राम्रा र सत् कर्म गर्नेहरुलाई प्रेरणा थपेका छन् । एउटा सचेत नागरिकको कर्तव्य भनेकै यही हो, जुन चन्द्रावतीले आफ्ना मुक्तकमार्फत् पूरा गरेकी छन् । यसैलाई आफ्नो जीवनदर्शन बनाएर अगाडि बढेकी छन् । जसको साक्ष्यका लागि यी मुक्तक हेर्न सकिन्छः

आँखासँग आँखा जुधाई लोसिएको दिन सम्झे
अप्ठ्यारोमा साहस दिई जोसिएको छिन सम्झेँ
रोकिएनन् अस्रुधारा भिजेका छन् परेली यी
भाग्यसँगै सौभाग्य नी खोसिएको दिन सम्झेँ ।
खाटा बस्या घाउ कोट्याई नुनचुकमा तार्न
बिर्सिएको अतितलाई सम्झी आँसु झार्न
नआए पनि हुन्छ जस्तो लाग्छ हिजो आज
किन आउँछन् चाडपर्व मन अमिलो पार्न ।
कृतिको पहिलो खण्डमा चन्द्रावतीले आफ्नो व्यवहारिक जीवनमा आइलागेका विवशता र बाध्यतालाई लिपिबद्ध गरेकी छन् । आफ्नो सौभाग्य खोसिएका र चाडपर्व, चाडपर्व जस्ता बन्न नसकेका सन्दर्भलाई अभिव्यक्त गरेकी छन् ।
कृतिको दोस्रो खण्डमा वर्तमान सन्दर्भलाई लिएर मुक्तक लेखिएका छन् । चारैतिर विकृति, विसंगति, वेथिति मौलाएको छ । देशको माउ नीति मानिएको राजनीतिले सही मार्ग निर्देश गरेको छैन । यसैले उनी भन्छिन्:
समाजका आवश्यकता के हुन् छानिएन भने
बनाएका नियम कानून आफैँ मानिएन भने
चल्न सक्छ टिका–टिप्पणी, जताबाट पनि
ओहोदाको गरिमा जोगाउन जानिएन भने ।
तिम्रा गल्ती सबै सामु गन्न सकिन
बिना दोष माफी देऊ भन्न सकिन
दिँदा पनि धेरै चोट कोमल मुटुमाथि
तिमी जति अविवेकी बन्न सकिन ।
समाजमा अर्कालाई दोष लगाएर आफू असल र सज्जन बन्न लालायित हुनेहरुको भीड छ । चन्द्रावती त्यसको प्रवाह नगरिकन आफ्नो कर्ममा लागिरहेकी छन् । केवल आफैँलाई प्रश्न गर्दै लेख्न थालेकी छन् । आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर मुक्तकका माध्यबाट आफ्नो जीवन दर्शन व्यक्त गरेकी छन् :
प्रश्न गरी आफैँसँग रुन्छु कुनै दिन
सत्य बोल्दा आफू एक्लै हुन्छु कुनै दिन
अवमूल्यन हुँदा हजुर आफ्नो परिश्रमको
अव्यक्त ज्वालामुखी हुन्छु कुनै दिन ।
अब काँधको जिम्मेवारी कतै थमाउँदिन
बाधा अड्चन् जे आउँछन् खुट्टा कमाउँदिन
निडर हुन हिजै सिकाउनु भयो बाबा–आमाले
आफ्नो हक खोज्न कसैको फेरो समाउँदिन ।
वर्तमान विज्ञान प्रविधिको युग हो । त्यसमा उनको दुई मत छैन । तर पछिल्लो पुस्ता दिनमा ५० पटक सामाजिक सञ्जालमा व्यस्त हुँदा, मोवाइलमै घोप्टे परिरहँदा दिनमा दुई पटक पुस्तक हेर्न सक्दैन । यसैले जसरी सज्जालमा भुल्ने लत लागेको छ त्यसै गरेर पुस्तक पढ्ने बानीको विकास स्रष्टा साधकले गराऔं हामीलाई असल लेखक, पाठक बन्न र असल मान्छे बन्न कसैले रोक्न सक्दैन भन्दै उनी व्यङ्ग्यात्मक तरिकाले लेख्छिन् :
हेल्लो भन्दा हाइ भन्ने जमानामा छु
जसरी हुन्छ भाइरल बन्ने जमानामा छु
पोष्ट्याउँछु आफ्नै तस्वीर छानी–छानी
लाइक कमेन्ट कति भए गन्ने जमानामा छु ।
चन्द्रावती कस्ता मुक्तक लेख्छिन् यिनै मुक्तकबाट प्रष्ट हुन्छ । सामाजिक आदर्शको खोजी गर्ने चन्द्रावतीले आफ्ना मुक्तकका माध्यमबाट सनातन संस्कृति संरक्षणका लागि आह्वान गरेकी छन् । वाग्लेले सामाजिक न्यायका लागि मुुक्तकबाट आवाज उठाएकी छन् । हरेक क्षेत्रमा सङ्गतिको खोजी गरेकी छन् । उनी आफ्ना सिर्जनामा देश बोल्छिन्, शहीदको सम्मान खोज्छिन्, लोकतन्त्रमा चाकडी, चाप्लुसी, धुत्याई, भ्रष्टाचार नभएर समृद्धिको सपना देख्छिन् । हत्या, हिंसा, बलत्कारप्रति कटाक्ष गर्छिन् । र सबैभन्दा बढी सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणको स्वर उराल्छिन् ।
विषयगत विविधता, भावको गाम्भीर्य र लयात्मक मुक्तक सिर्जना उनका सबल पक्ष हुन् । मुक्तकमार्फत् बृहत् कुरा भन्न सक्ने खुबीमै मुक्तककारको सफलता लुकेको हुन्छ । जुन क्षमता वाग्लेमा बढ्दै जाने देखिन्छ । नयाँ विधामा कलम चलाउनु पूर्व राम्ररी अध्ययन गरेर, त्यसका संरचनात्मक घटकबारे ज्ञान लिएर लेखिएको हुनुपर्छ । वाग्ले त्यसप्रति अवश्य सचेत छन् त्यसैले उनको पहिलो मुक्तक कृति सम्भावनायुक्त देखिन्छ ।

निष्कर्ष
खराब विचार बोकेर जिन्दगी गुजार्नेहरुसँग सज्जन साथी बन्नै सक्दैन । बरु दुष्मन बराबर हुन सक्छ । चोरेर ल्याएको सम्पत्ति राख्न चोरले साधुको घर नरोजे जस्तो चन्द्रावतीका मुक्तक कोही कसैकालाई रुचिकर नहुनुलाई नौलो र अनौठो मान्न पर्दैन । साच्चै चन्द्रावतीका मुक्तकमा विकृति, विसङ्गति, वेथितिको आँगो मात्र ओकलिएको छैन । विरह, वेदना र वियोगको आगो पनि छ । एउटा साहित्यको विद्यार्थीका नाताले भन्न सक्छु, चन्द्रावती साच्चै अक्षरको आँगो ओकल्ने चन्द्र हुन् ।
उनका मुक्तक पढेपछि एउटै सुझाव छ, चन्द्रावती ! तिमी चन्द्र भएर मात्र होइन, अब सूर्य भएर उदाउन अग्रसर हुनुपर्छ । तिम्रो त्यो उदाइसँगै बिस्कुन सुकाउनेहरू आफ्ना फसलको रेखदेख गरेर क्षणिक लाभ–हानीका पछाडि दौडलान् चिन्ता नगर । चर्को घाममा वनजङ्गलमा उदाएका सामान्य खहरेहरू सुक्न सक्छन्, त्यो नौलो होइन । चरा–च्याखुराका लागि केही असहज हुन सक्छ त्यसमा अल्झने होइन । तिमी साहित्यिक समुन्द्र बनेर अगाडि बढ्नू मेरो कामना छ । किनकि मैले आजसम्म चर्को घाममा पनि समुन्द्र सुकेको देखेको छैन । तिमीमा यो चेतनाको विकास ढिलो–चाडो हुनैपर्छ ।
नोटः वाग्लेको अक्षरको आगो मुक्तक कृति लोकार्पण समारोहमा प्रस्तुत मन्तव्य वक्ताको स्वीकृतिमा प्रकाशित गरिएको हो ।




