शकुनको सुसाधना : खबरमा छु प्रिय !

-


     असफल गौतम    
     असाेज २९ गते २०८१ मा प्रकाशित


सन्दर्भ परिचय
गुल्मीको ग्वाँदीमा जन्मेर समाजशास्त्रमा स्नातकोत्तर गरेकी शकुन ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी छन् । झण्डै दर्जन लोकदोहोरी र तीजेगीतका एल्बम बजारमा ल्याइसकेकी शकुनले २०६१ भाद्र २९ गते अली मियाँ लोकवाङ्मयको व्यानरमा पहिलो कविता कृति “पालुवा र मञ्जरी’ पोखरामै लोकार्पण गरेकी थिइन् । गायन यात्राको आयामसँगै साहित्यिक अध्याय थपेर आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा उभ्याएकी शकुनका तीन कवितासङ्ग्रह “तिमी र म”, “भन्दिनु है बा !” पछि “खबरमा छु प्रिय !” मुक्तकसङ्ग्रह बजारमा आइसकेका छन् । यसरी अगाडि बढ्ने क्रममा पोखरामै शकुनको पछिल्लो कृति मुक्तकसङ्ग्रहको परिचर्चामा जुट्न पाउनु सबैका लागि सौभाग्यको कुरा हो ।
ज्ञवाली व्यथित काव्य सम्मान, नवरत्न पुरस्कार, डायस्पोरा विशिष्ट महिला साहित्य सम्मान, नवप्रतिभा पुरस्कारलगायत दर्जनौं सम्मान पुरस्कारबाट विभूषित भइसकेकी छन् । नेपालमा छँदा लुम्बिनी अञ्चलस्तरीय दोहोरी गीत प्रतियोगिता र अमेरिकामा न्युह्याम्पशायर च्याप्टरद्वारा सन् २०१५ मा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल ज्ञवाली घरदेश र परदेशका विभिन्न वाङ्मयिक संघसंस्थामा क्रियाशील रहेर साधनालाई खारिरहेकी छन् ।

विषय प्रवेश
शकुन ज्ञवालीको १३२ पृष्ठको आयाममा फैलिएको कृतिमा १८२ मुक्तक सङ्गृहित छन् । मुक्तकसङ्ग्रहको बिक्री मूल्य साजसज्जा र गुणस्तर सुहाउँदो देखिन्छ । मुक्तकप्रेमीप्रति समर्पण गरिएको कृतिमा नेपाली मुक्तकलाई जाज्वल्यमान तुल्याउन साधनारत तीर्थराज अधिकारी, उषा शेरचनदेखि अनेसासका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजा, पूर्व अध्यक्ष राधेश्याम लेकाली, बिओटी अध्यक्ष पदम विश्वकर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठका साथै न्यूयोर्क च्याप्टर सल्लाहकार किसनसिंह धामी र च्याप्टर अध्यक्ष राजन महर्जनलगायतका भूमिका, शुभेच्छा–शुभकामनाले उनको जीवनी, व्यक्तित्व तथा कृतित्वका विविध आयामलाई उजिल्याएका छन् ।
सिर्जनाको मूल्य हुनुपर्छ भनेर मुक्तक सुनाइने पोखरा, मुक्तकको रचनाविधान तयार हुनुपर्छ भनेर खोजिने पोखरा, मुक्तक लेखनसँगै नेपाली वाङ्मयको सिर्जनायात्राको चुली आरोहण गरेका सरुभक्तको पोखरामा सरुभक्तकै सानिध्यतामा नेपाली साहित्यको एउटा विद्यार्थीले मुक्तक सिद्धान्तको व्याख्या र विश्लेषण गर्ने धृष्टता राख्दिन । तर औपचारिक कार्यक्रमका कतिपय सन्दर्भ औपचारिकता निभाउने हुन्छन्, त्यसैले शकुनको मुक्तक लेखन यात्रालाई लिएर एउटा पाठकको एउटा किताब माथिको सामान्य टिप्पणीलाई आधार लिएर सिङ्गो सिर्जनायात्राको आँकलन गर्दा अन्याय हुने भएकाले त्यो, नगरी दिनु हुन वाङ्मयसेवीमा विनम्र निवेदन गर्दछु ।
वैदिक सनातन संस्कार संस्कृतिलाई मान्दै अगाडि बढ्ने पृष्ठभूमिमा जन्मेकी शुकनलाई नामकरण सन्दर्भमा व्याख्या गरिरहन आवश्यक पर्दैन । जसको पृष्ठभूमि र पहिचान आफैँमा महत्त्वपूर्ण हुन्छ । मुक्तकसङ्ग्रहको नामकरण सर्जकलाई उत्कृष्ट लागेको कृति भित्रकै मुक्तकबाट गरिएको छ । झट्ट सुन्दा, हेर्दा, पढ्दा आलङकारिक र शृङ्गारिक अनुभूत हुने शीर्षक चयनमा सर्जकको कौशलता देखिएको छ ।

खबरमा छु प्रिय ! का आयामहरू
शकुनका १८२ मुक्तकले विषयगत विविधता बोकेका छन् । राष्ट्र र राष्ट्रियताको चिन्ता र चिन्तन गरेका छन् । यहाँको माटो, बाटोघाटो, संस्कार–संस्कृति, मौलिक पहिचान र प्रतिष्ठा मात्र होइन, यहाँका नियम, कानून, विधि, विधानका साथै विकृति, विसंगति, जीवन भोगाइ र अनुभूतिसहितको जीवनदृष्टि शकुनका मुक्तकमा पाइन्छ । मुक्तकमा सत्य तथ्य, घरदेश र परदेशको वर्तमान युगजीवनको चित्रणसँगै मातृवात्सल्यले लछप्प रुझेर बगेका आँसुका ढिकाहरूको दर्दनाक चित्रण पनि अभिव्यक्त छन् ।
हिजोदेखि आजसम्म देशमा अनेक तन्त्रहरू देखियो, व्यवस्थाहरु भोगियो । देश बनाउँछौं भनेर युवा अवस्थादेखि लागेकाहरू आर्यघाट पुग्ने उमेरसम्म देशका नाममा लडिरहेकै देखिन्छ । तर उनीहरूको देशप्रेमको नतिजा वर्तमानलाई हेर्दा राज्यमा सुशासन, समृद्धि, सुव्यवस्थाका खातिर नभएर जनताका आँखामा छारो हाल्ने र सात पुस्ता बनाउने राजनीतिक व्यापारमा लागेको अनुभूति हुन्छ । यसरी देशका लागि लड्दा पनि साच्चै राज्यमा राष्ट्रियता र देशप्रेम कहाँ हराइरहेको छ ? किन राज्यमा अनौठो परम्परा विकास भइरहेको देखिन्छ । सती प्रथा भोगेका नेपाली आज शरणार्थी प्रथा व्यहोर्न किन बाध्य छन् ? मुलुक छ, भरोसा छैन, शिक्षा छ, रोजगार छैन । त्यसैले, परदेशिनु नेपालीका लागि रहर नभएर बाध्यता भएको छ । बाध्यताले परदेशिएकाहरू परदेशमा ज्यान र घरदेशमा मन राखेर बाँचिरहेको यथार्थ शकुनका मुक्तकमा यसरी अभिव्यक्त भएको पाइन्छ:
कहिलेकाहीँ त लाग्छ हजुर न्याउली जस्तै हुने गर्छु
कल्पनामा घरको आँगन त्यही मूल बाटो छुने गर्छु
देश छोडी हिँडेको म गफ लगाए जस्तो लाग्ला
नपत्याउलान् कोहीले तर नेपाल सम्झी रुने गर्छु
(पृ.५) ।

देश कहिले फर्कुंला खै दोधार त यसमा छु
सुहाओस् या नसुहाओस् यै विदेशी भेषमा छु
दिनरात यही चिन्ताले पोल्ने गर्छ भित्र भित्रै
मुटुभरि देश बोक्छु आफू भने विदेशमा छु
(पृ.६१) ।
देशप्रेम मात्र होइन, देशभित्रका वेथितिको चित्रण पनि शकुनका मुक्तकमा पाइन्छ ।
हिजोआज हामीलाई अनौठो रोग लागेको छ । हामी आँखा अगाडि बेथितिले निम्त्याएका दासत्व र नरसंहारलाई सामान्य ठान्छौं । पर–परका सशस्त्र युद्धको विरोध गर्छौं । गतवर्ष भूकम्पले तहसनहस भएको जाजरकोट र रुकुम पश्चिमले अझै उद्धार नपाएको बेला फेरि दशैँ आइसकेको छ । देशमा बालुवाटार, सिंहदरबार र संसद् भवनका दृश्यमा नागरिकको पीडा देखिँदैन । सरकार दशैंका लागि च्याङ्ग्र्रा बन्दोबस्त र उदाएका युवाहरूको जोश, जागर, उत्साहलाई निमोठ्ने गृहकार्यमा छ । राज्यलाई तिर्नुपर्ने खर्बौं रुपैयाँको भार जनतालाई बोकाएर एक दुई करोड खल्तीमा हाल्ने दाउमा छ । एउटा राजा धेरै भयो भनेर फालेकाहरू आज कैँयौं छोटे राजाहरूको दासत्व व्यहोर्न बाध्य परिरहेको अवस्था छ । यस्तो बेलाको दशैँ के दशैँ ? दशैँ दशा बनिरहेका बेला देश बनाउँछौं भनेर बनाउन थालिएका लोकमार्ग परलोक मार्ग बनिरहेका छन् । यसैले सचेत सर्जकहरू सिर्जनामा खबरदारी र पहरेदारी गर्न चुक्नु हुँदैन भन्दै शकुन लेख्छिन्:
पहिले थियो शान्तिक्षेत्र द्वन्द्व ताजा जन्मायौँ हाम्ले
केही बज्ने केही नबज्ने धेरै बाजा जन्मायौँ हाम्ले
साना–ठूला धेरै दल छन् तिनै दलका नेता पुज्छौँ
एउटा राजा फाल्यौँ तर धेरै राजा जन्मायौँ हाम्ले
(पृ.४५) ।

राज्यको वर्तमान व्यवस्थामा स्रष्टा साधक, साहित्य र सिर्जनालाई हेर्ने दृष्टिकोण पर्याप्त सकारात्मक पाइँदैन । जनताले चुनेका जनप्रतिनिधिसँग साहित्यिक सन्दर्भमा वहस गर्दा साहित्य लेखेर के हुन्छ ? साहित्यिक कृति प्रकाशित गरेर कसले पढ्छ ? साहित्यिक कार्यक्रम गरेर के हुन्छ ? यो माग्ने काम नगर्नुहोस् भन्न पछि पर्दैनन् । सहयोगका लागि दुई चार हजार बजेट नहुने राज्यसँग पार्टीको चिह्न र अन्य विविध कुरा मिल्दा प्राइभेट कम्पनीका लागि २५ लाख पनि निस्कन्छ । वाङ्मयको खोल ओढेर बाबु-बाजेको वृत्ता जस्तो ठानेर राज्यकोषको चरम दोहोन र दुरूपयोगमा लाग्न यही राज्य पछि पर्दैन । वर्तमानमा देखिएका दुई दल लोकतान्त्रिक काँग्रेस र क्रान्तिकारी काँग्रेसहरू नाट्यसम्राट बालकृष्ण समजयन्तीमा माक्र्सवादको सान्दर्भिकताको वहस गर्न पछि पर्दैनन् । यो मात्र नभएर, वाङ्मयको श्रीवृद्धिमा संवैधानिक रुपमा स्थापना भएका सरोकारवाला निकायका तालुकदार विषय क्षेत्रमा होइन, कार्यकाल सकिएपछि कहाँ जग्गा किन्ने, कस्तो घर बनाउने, कस्तो गाडी चढ्ने ध्यानमा मात्र केन्द्रित छैनन् । उल्टो ती कार्यालयलाई भातृसंगठनका सम्पर्क कार्यालय जस्ता बनाएर वाङ्मयसेवीलाई धोती लगाइरहेका छन् ।

स्वाभिमानी साधकहरू राज्य व्यवस्थाबाट यसरी आक्रान्त भइरहेका बेला आफूलाई महान् ठान्नेहरूले तयार गरेको अर्को दासत्वको शिकार पनि बनिरहेका छन् । भाग पाइँदैन, ठाउँ पाउँदैन भन्ने डर, लोभ र भयले स्वघोषित छोटेहरूको दास बन्नेहरूको लर्को पनि लामै देखिन्छ ।

जाज्वल्यमान बनाउनुपर्ने मस्तिष्कलाई दुषित अन्न खाने बानी बसालेर दुषित बनाउनेहरूको चेतनास्तर उसको बाहिरी आवरणबाट होइन बोली व्यवहारबाट प्रष्ट भइरहेको सन्दर्भमा खोला तरेर लौरो बिर्सने मानसिक दरिद्रपनको पनि शुकनले राम्ररी नाडी छामेकी छन्, त्यसैले लेख्छिन्ः
औँला भाँची गन्छु जिन्दगी नाफा र घाटाले धेरै सिकायो
विगतलाई फर्केर हेर्ने गर्छु चोट र खाटाले धेरै सिकायो
दौडेर उचाइ छुन्छु भन्ने आसै छैन तर पनि दौडिरहन्छु म
किनकि मलाई दिनहुँ हिँड्ने यिनै बाटाले धेरै सिकायो
(पृ.१२) ।

सुक्या खरमा आगो लागे सल्किहाल्छ एकैछिनमा
आधा गाग्रो पानी भए छल्किहाल्छ एकैछिनमा
म त यस्तो म त उस्तो भन्नै तिम्ले केही पर्दैन
तिम्रो संस्कार बोलीबाटै झल्किहाल्छ एकैछिनमा
(पृ.४९) ।
राज्यमा आज पनि न्याय मरिरहेको छ । न्याय पावर, पहुँच र पैसाको लोभमा भरियावाद र फरियावाद भित्र लुटपुटिएको हो कि भन्ने प्रश्न गर्नुपर्ने भएको छ । राजावादी, प्रजातन्त्रवादी, गणतन्त्रवादी भनिनेहरूका किसिम–किसिमका व्यवहार देख्दा वाक्क परेका जनता आज कानूनी व्याख्याकै विषयमा अनौठो मानिरहेका छन् । अन्यायमा परेका छोरीचेलीहरू न्यायका लागि मुख खोल्दा पावर, पहुँच र पैसा हुनेहरू “गौशाला २६” भएर छाती फुलाउँदा कोही धरधर्ती रोइरहेका छन् । त्यो देशको पावर, पहुँच र पैसामा लुटपुटिएको न्यायले सर्वहाराहरू अन्यायमा परेको यथार्थलाई शकुन जस्ता सचेत स्रष्टाले मुक्तकका विषय बनाएर लेख्छन् र जिन्दगीको अर्को नाम भनेको सङ्घर्ष भएकाले जे जस्ता उल्झन आए पनि हिम्मतका साथ अगाडि बढ्नुपर्छ भनेर हौसला र प्रेरणा दिँदै यसरी लेख्छिन् :

ठाउँ–ठाउँमा गुण्डागर्दी टम्मै छ मेरो देशमा
पैसाले न्याय किन्ने सम्मै छ मेरो देशमा
निर्दोष बरु जेल पर्छ अपराधी खुला डुल्छ
दिनहुँ चेली बलात्कृत अचम्मै छ मेरो देशमा
(पृ.५५) ।

बित्ने आखिर दिन, महिना अनि वर्ष रै’छ हजुर
जीवन भन्नु कहिले आँसु, कहिले हर्ष रै’छ हजुर
आजसम्म आइपुग्दा मैले यति बुझ्न सकेँ
जिन्दगीको अर्को नाम त सङ्घर्ष नै रै’छ हजुर
(पृ.७५) ।

राज्यमा कागजमा थिति, व्यवहारमा वेथिति मौलाउँदा मौलाउँदै हिजो आज समाज पनि ढोँगी भइरहेछ । मान्छे जीवनभर देख्न सक्दैन मरेपछि श्रद्धाञ्जली लेख्न हतारिन्छ । त्यो व्यवहारलाई कसरी लिने ? दुःखले श्रद्धा व्यक्त गरिरहेछ या उत्सव मनाइरहेछ ? सोच्न बाध्य हुन परेको छ । जसले जे जस्तो चेतना र चिन्तन पालोस् तर सचेत स्रष्टा आफ्नो मात्र होइन जगत् भलोको कामनामा स्वाभिमानले बाँच्नुपर्छ । सौभाग्य र दुर्भाग्यको कुरा कसैले जान्न सक्दैन । एउटा मालीले बगैँचामा रक्षा गरेर हुर्काएको फूल पूजाआजामा मन्दिर पुगोस्, चाहे मसानघाट । त्यो फूलले कहिल्यै दुःख मनाऊ गर्दैन सौभाग्य र दुर्भाग्यका विषयमा । जीवनलाई पनि त्यसरी नै अगाडि बढाउनुपर्छ । भोलि भौतिक शरीर छोडेरै जाने भएकाले अर्काको कुभलो किन चिताउने ? सकिन्छ सबैलाई राम्रो गरौं, सकिँदैन नराम्रो नगरौं भन्दै शकुन लेख्छिन् :
के को तेरो के को मेरो चारै दिनको जिन्दगानी
अजम्बरी छु झैँ गर्छन् मान्छे किन जानी–जानी
मरेपछि फूलका माला चढाउँछन् श्रद्धाञ्जलि
बाँचुन्जेल बोलचाल बन्द रिस–डाह खिचातानी
(पृ.६९) ।

अरुलाई नडुबाए पुग्छ आफू तर्न नसके पनि
अरुलाई आँसु नदिए पुग्छ खुशी छर्न नसके पनि
हात बढाऊ सकेदेखि नसके बसिदेऊ चूपचाप
अरुलाई नबिगारे पुग्छ राम्रो गर्न नसके पनि
(पृ.९०) ।

आफूलाई कमजोर ठान्यो भने उकालो चढ्न सकिँदै सकिन्न
अति मन डुलाउने मान्छे एक ठाउँमा अड्न सकिँदै सकिन्न
अभिमान होइन स्वाभिमान त हुनै पर्छ मानिसभित्र
नत्र त जिन्दगीमा अघि बढ्न सकिँदै सकिन्न
(पृ.९१) ।

प्रेमका विविध आयाम र अध्याय छन् । यसैले साहित्यमा सबैभन्दा धेरै लेखिने विषय प्रेम नै हो । शकुनका मुक्तकमा अभिव्यक्त प्रेमका धेरै विषयको चर्चा भएर पनि चर्चा गर्न बाँकी विषय हो, प्रेम र वियोग । वर्तमान सुखमय रहे तापनि हिजोका रुमानी याद सबैका हुन्छन् । कतिपय सन्दर्भमा त प्रेम एउटासँग, जीवन अर्कोसँग बिताउनु पर्दाका सन्नाटाले निम्त्याएका क्षण पनि केहीका जीवनमा देखा पर्दछन् । शकुनको जीवनमा त्यो भयो भएन उनले जान्ने कुरा हो तर समाजमा धेरैले भोगेको यथार्थलाई उनले मुक्तकमा अभिव्यक्त गरेकी छन् ।

यसैगरी, औपचारिक होस् या अनौपचारिक सबै कार्यक्रममा शुकनले जीवनसाथी विमल सापकोटाको नाम छुटाउँदिनन् । सिर्जनायात्रालाई समृद्धिको बाटोमा डो¥याउन आफ्नो कला र गला मात्र भएको अरु श्रेय आफनै जीवनसाथीको भएको भन्दै गर्व गर्ने शकुनले श्रीमती असल भए श्रीमान्लाई टुट्न दिन्नन् भन्दै प्रेम र वियोगका सन्दर्भमा यसरी लेख्छिन् :
उसैमा यो नजर अड्कियो जो मेरो भाग्यमै थिएन
उसकै मात्र अभाव खड्कियो जो मेरो भाग्यमै थिएन
आफैँले सोचेजस्तो प्रेमिल जिन्दगी सबैलाई कहाँ मिल्छ र
मुटु उसकै लागि धड्कियो जो मेरो भाग्यमै थिएन
(पृ.९१) ।

तिम्रो सर्टको बटमसमेत फुट्न दिन्न नारी
गृहस्थीको रथको पाङ्ग्रा छुट्न दिन्न नारी
यदि असल श्रीमती छ भने तिम्रो साथमा
कहिले पनि श्रीमान्लाई टुट्न दिन्न नारी
(पृ.३) ।

राज्यमा धन धेरै भयो भने राख्ने ठाउँ बैंक छ । तर मन राख्ने ठाउँ पाइँदैन । मन राखेर मेन्टल थेरापी गर्ने र तनाव व्यवस्थापनको माध्यम नै साहित्य बनेको बेला छ । यो मात्र होइन, साहित्यिक सिर्जना र सन्तान जन्माइनु आमा बन्नु हो । आमालाई बचेराहरूको जीवनरक्षार्थ गुँड जोगाउँदै पखेटा दरिला बनाउने मात्र होइन, जीवनदर्शन सिकाउनु पर्ने जिम्मेवारी बोध पनि छ । जसबाट एकातर्फ स्रष्टाको बहुआयाम झल्किन्छ, अर्कोतर्फ जिम्मेबारी बोध गराउँछ । यसैले साहित्य सिर्जनाप्रतिको गहिरो प्रेम दर्शाउँदै शुकन लेख्छिन्:
कहिले मुक्तक, कहिले गजल, कहिले गीतमा सर्दै गएँ
कविता नै कोरी–कोरी कापीहरु भर्दै गएँ
रमाउनै सकिनँ म अरु केहीमा खै किन हो
सिर्जनामै आफूलाई समाहीत गर्दै गएँ
(पृ.६६) ।
वर्तमानको यथार्थ चित्रण, देशप्रेम र जीवन दर्शनसँगै शुकनले आफ्नो बालापन बिर्सेकी छैनन् । वर्तमान जस्तो रहे पनि बालापन हरेकलाई अति प्रिय हुन्छ । किनकि, मान्छेलाई बालापनले मार्गनिर्देश गरेर नै अगाडि बढाएको हुन्छ । आफूले बाँचेको वर्तमान, आँखाका सजाएको सुदूर भविष्य र सुन्दर सपनालाई शुकनले मुक्तकका सजाएकी छन् । दुई सन्तान अनुष्का र आज्ञाको खुशीका लागि एकान्तमा रोएर खुशी बाँडेका सन्दर्भलाई यसरी अभिव्यक्त गरेकी छन् :
सानी थिएँ त्यतिवेला ठुली बन्ने रहर थियो
मेरो पनि सपनाको छुट्टै सुन्दर शहर थियो
जति उमेर बढ्यो त्यति जीवन बुझ्न गाह्रो
लाग्छ अहिले त्यही उमेर उत्तम प्रहर थियो
(पृ.६४) ।

वरिपरि यिनै छन् र मुस्कुराउँछु यिनकै लागि
कठीन यात्रा जिन्दगीको म धाउँछु यिनकै लागि
एकान्तमा रोए पनि बाहिर खुशी देखिन्छु म
आफूलाई म साहसिली बनाउँछु यिनकै लागि
(पृ.१२) ।
वर्तमानमा प्रवासमा रहेर साधनामा लागेकी शकुनलाई नेपाली डायस्पोराले मात्र खोजेको छैन, नेपाली वाङ्मय क्षेत्रले पनि खोजिरहेको छ । यसरी खोजी हनुका पछाडि उनको सिर्जना र साधना जोडिएको छ ।

शैली र शिल्प
शकुनका मुक्तक सरल, तरल, सरस र सहज छन् । लोकदोहोरी गायनको पृष्ठभूमिबाट साहित्यमा आएकाले उनका मुक्तक गेयात्मक छन् । शिष्टता र बेजोड सामर्थ्यले भरिपूर्ण मुक्तकमा सत्य र तथ्यको चित्रण छ । उखान, टुक्काका साथै आगन्तुक शब्दको समिश्रणबाट प्रष्ट हुन्छ, शकुनको भाषा, सीप, ज्ञान र अभिव्यक्ति कला सफल छ । अक्षरका यात्रीहरू सदा सिर्जना धामको अनन्त र जीवन्त यात्रामा हिँडिरहने भएकाले उनको मुक्तक लेखन त्यही गन्तव्यतर्फ लम्किरहेको बोध हुन्छ । मुक्तक लेखन दिन प्रतिदिन शुक्लपक्षको चन्द्रमा झैँ प्रज्वलित हुँदै गएको र साहित्यिक रङ्ग लालीगुराँस जस्तै मनोहारी भएको देख्न पाइन्छ ।

अन्त्यमा
शकुनका मुक्तकको चर्चा गर्दा राम्रासँगै कमजोर पक्ष अवश्य छन् । तर केही कमजोरीलाई सबल मुक्तकको शक्तिले जुर्मुराउन दिएका छैनन् । सत्य के हो भने, जति सुकै राम्रो काम गर्दा पनि सामान्य कमजोरी हुन्छन् त्यसबाट धेरै निकालिनु त्यो मानवीय स्वभाव हो । कमजोरी खोज्नेका लागि त गर्धनै काटे पनि अलिकति तलबाट काट्नुपर्ने माथि भएछ, सीधा काट्नुपर्ने बाङ्गो भएछ भन्न भ्याउँछन् । कली युगमा सच्चा मोतीरामहरू जन्मन नसकिरहेको बेला प्रतिभाको चर्चा उसैको क्षमताबाट हुँदै जाने हो । शुकन ! तिमीले यो बुझ्नै पर्छ कि, साहित्य एउटा अज्ञानीले अर्को अज्ञानीलाई अझ अज्ञानी बनाउने माध्यम हुँदै होइन । यो त विद्यादान हो, यो दानमध्येको महादान हो । किनकि, भौतिक वस्तुको दानले केही समय खुसी बनाउँला तर विद्यादानले पूरै जीवन सुखमय बनाउँछ । यो सारा जीवन सुखमय बनाउने महान् लक्ष्य बोकेर पोखराबाट सिर्जना र श्रमका बुँद छर्न शुरु गरेकी शकुनको सिर्जना यात्रा बहुआयाम हुँदै बहुराष्ट्रमा लम्किरहेको देख्न पाइयोस् । आगामी साहित्यिक यात्राको थप सफलताको शुभकामना ।

नोटः ज्ञवालीको पोखरामा आयोजित परिचर्चा समारोहमा प्रस्तुत सामग्री लेखकको स्वीकृतिमा प्रकाशित गरिएको हो ।