चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

-


     पोखरा क्लिक     
     चैत्र १ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

अन्ततः आउँदो आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराक्लिकलाई बताउनु भयो ।

यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७÷८ बर्ष अघि देखि चले पनि अन्ततः चैत ४ आइतबार घोषणा हुने भए पनि पोखरा क्षेत्रका पर्यटन व्यवसायी र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित हुनु भएको छ । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानि घोषणा हुने गरी तयारी गरिएको छ भने उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउनु हुने भएको मेयर आचार्यले जनाउनु भयो । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने बृहत झाकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको हो ।

यसैबिच, पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई पर्यटनको राजधानि घोषणा गर्ने निर्णयले आफुहरु निकै उत्साहित भएको पोखराक्लिकलाई बताउनु भयो । पोखरा क्षेत्रमा अब लगानी भित्राउन र यहाँको पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न थप मद्धत पुग्ने बताउदै अध्यक्ष श्रेष्ठले पोखरामा अब बार्षिक २० लाख भन्दा बढी पर्यटन भित्राउन लाग्नु पर्नेमा जोड दिनु भयो । प्रदेश राजधानी पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको थियो ।