गण्डकी प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई प्रदेश सरकारबाट मासिक ५ हजार सहित सम्मान

-


     पोखरा क्लिक     
     फागुन २३ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

गण्डकी प्रदेश सरकारले ओलम्पिक खेलमा सहभागी प्रदेशका ९ जना ओलम्पियनहरुलाई मासिक भक्ता ५ हजार सहित सम्मान गरेको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मासिक ५ हजारका दरले (वार्षिक ६० हजार) सहित कार्यालयमै प्रदेशका ओलम्पियन ९ जना खेलाडीहरुलाई सम्मान गर्नु भएको हो ।

सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडी बिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्यले उक्त भक्ता सहितको सम्मान गरिएको बताउनु भयो । उहाँले भन्नु भयो “ हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ यसको रकम थोरै भए पनि हामीले खेलाडीहरुको हौसलाको लागि सुरुवता गरेका हौं ।” उक्त कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उहाँले जनाउनु भयो ।

गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्र्तगत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सुचिकृत भएका ५ सय ९४ जना रेफ्रि तथा प्रशिक्षक र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका १ सय जनाको स्वास्थ्य बिमा गरेको परिषदले जनाएको छ । उक्त बिमा लागु भए पश्चात दुर्घटनामा परी मृत्यु हुदा ४ लाख जोखिम बहन गर्ने भएको छ भने घाइते हुँदा उपचार खर्च १ लाख २५ हजारसम्म प्राप्त गर्न सकिने भएको छ । खेल क्षेत्रको बिकास, खेलाडीको सम्मान र नयाँ पुस्तालाई खेल तर्फ आकर्षित गर्न प्रदेश सरकारले खेल मैदान स्तरोन्नती, विद्यालय, जिल्ला स्तरीय प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्दै आएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष दिपक बिष्ट लगायतको सहभागिता रहेको थियो । गत जेठमा पोखरामा ओम्पियनहरुको भेलामा प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेशका ओलम्पियन खेलाडीहरुलाई मासिक ५ हजार भक्ता दिने उद्घोष सहित बजेट विनियोजन गरेकोले उक्त रकम वितरण गरिएको हो । उहाँले करिब १० महिना अघि उत्तः रकम खेलाडीहरुलाई उपलब्ध गराउने उद्घोष गर्नु भएको थियो । अल्पमतमा परेको प्रदेश सरकारले आफ्नो अन्तिम समयमा यसरी खेलाडी सम्मान गरेको हो । माओबादी केन्द्रले सरकारलाई दिएको ७ जना सांसदको समर्थन बुधबार नै समर्थन फिर्ता लिएको थियो ।