साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा ः विभिन्न सामाजिक कार्य गर्दै

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८० मा प्रकाशित



पोखरा २१, माघ

पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको बारिष्ठा तालिमका लागि विनियोजित ४ लाख रुपैयाँ विद्यालयसंगको सहकार्यमा खर्चिने उनले जनाए ।

विद्यालय प्राचार्य अर्जुन प्रसाद पाण्डेले साइनिङ स्टार विद्यालयले शैक्षिकसंगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको बताउँदै विद्यालयलाई यो स्थान सम्म आइपुग्दा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा विद्यालयका सल्लाहकार विष्णुहरी अधिकारी, व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, लालबहादुर कुँवर, बसन्त बैठक टोल विकास संस्थाका तुल्सी दाहाल, जगदम्बा आमा समुहका हेमा पहारी, कार्यक्रम संयोजक विमर्श कुँवर लगायतले मन्तव्य राखेका थिए । विद्यार्थीद्वय सजिना राई र रश्मी विकले सञ्चालन गरेको कार्यक्रममा विद्यालय संस्थापक बबिता भण्डारीले स्वागत गर्दै कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन् ।