दीननाथ बराल
पोखरा १६, माघ
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेता र सरकारी कर्मचारीका छोराछोरालाई सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती अबलम्बन गर्न सके नेपालको शिक्षामा थप विकास हुने बताउनु भयो । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको मंगलबार सम्पन्न भएको ५५ औं बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको शिक्षा क्षेत्रको विकास गर्न नेता र सरकारी कर्मचारीका छोराछारीलाई अनिवार्य रुपमा सरकारी बिद्यालयमा अध्ययन गर्ने गराउने निती मात्र अबलम्बन गर्दा शिक्षाको गुणस्तरमा विकास हुने दाबी गर्नु भएको हो ।
शुक्रराज माविले भेटेरेनरी शिक्षा(पशुपालन विज्ञान) बिषय समेटेकोमा धन्यवाद दिदै अध्यक्ष तिमिल्सिनाले अबको शिक्षा सैद्धान्तिक मात्र भन्दा पनि व्यवहारिक ज्ञान र सिपको लागि एवं व्यवसायीक शिक्षा हुनु पर्नेमा जोड दिनु भयो । हाल प्लस टु अध्ययन गर्न नपाउदै युवाहरु विदेशीनुमा एउटा कारण नेपालको अव्यवहारिक शिक्षा नितीले गर्दा त्यस्तो समस्या भएको उहाँको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्राविधिक शिक्षाले बिद्यार्थी र बिद्यालयको समेत भविश्य राम्रो हुने बताउनु भयो । अझै पनि सामुदायिक बिद्यालयहरुको केही क्षेत्रमा सस्या भएकोले मर्जर गरेर संचालन गर्नुपर्ने उहाँको भनाई थियो । बिद्यालयका पूर्व अध्यक्ष समेत रहनु भएको बरालले बिद्यार्थीको सङख्या घट्दै जादा एक अर्कोमा बिद्यार्थी तानातानको अबस्था आउन लागेको जनाउनु भयो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल,, पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा महानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारी, प्रध्यानाध्यापक नरनाथ बराल लगायतले अबको शिक्षा व्यवहारिक र सिप मुलक नै हुनुपर्नेमा जोड दिनुभयो । बिद्यालयमा ३ सय २० जना बिद्यार्थीहरु अध्ययनरत रहेको प्रध्यानाध्यापक बरालले पोखराक्लिकलाई बताउनु भयो ।