युवा पलायन रोक्न आर्थिक वृद्धि र रोजगारी सिर्जना जरुरी ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

-


     पोखरा क्लिक     
     माघ ४ गते २०८० मा प्रकाशित


पोखरा,४ माघ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले युवा पलायन रोक्नको लागि आर्थिक वृद्धिसँगैको रोजगारी सिर्जना हुनुपर्ने धारणा राखेका छन् । मासिक ५०÷६० हजारदेखि ३ लाख रुयैयाँसम्म तलब खानेहरुले पनि देश छाडिरहेका छन्,अहिले मनोवृत्ति नै विदेश जानुपर्छ भन्ने देखिएको छ, चाहेर पनि उनीहरुलाई रोक्न सकिएको छैन,’ बिहीबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,‘दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरुको इच्छा र आकांक्षालाई संवोधन गरिनुपर्छ ।

विदेश जानेहरुलाई गाली गरेर,अर्ति–उपदेश दिएर यो समस्या समाधान हुँदैन ।’ नेपालको निजी क्षेत्र दक्ष जनशक्ति पलायनप्रति गम्भीर रहेको बताउँदै उनले रोक्नको लागि सरकारसँग मिलेर काम गर्न तयार रहेको उद्घोष गरे ।
सरकारले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताइरहे पनि माग घट्दा उत्पादन बढ्न नसकेको र सिंगो निजी क्षेत्र उदासिन बनेको पनि उनको भनाइ थियो । ‘हिजो अर्थतन्त्रलाई सही दिशा दिने भन्दै गलत नीति लिइयो,अर्थतन्त्रलाई गिज्याउने काम भयो र आज संकुचनको अवस्था आयो,’उनले भने,‘संकुचित अर्थतन्त्रलाई लयमा लैजान माग बढाउन सक्नुपर्छ, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो संचालनको भारतीय सीमा नाकामा रहेका धनगढीदेखि भद्रपुृरसम्मका ८ वटा सहरहरुमा तत्काल उडान थाल्नुपर्ने बताए । ‘सीमा नाकामा दैनिक उडान भयो भने भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ,त्यसका लागि नेपाल हवाइ उड्डयन कार्यालयले एयरपोर्टको शुल्क घटाउनुपर्छ भने पोखरामा पर्यटन व्यवसायीहरुले निश्चित समयसम्म होटलमा भारी छुट दिनुपर्छ,’ उनले थपे । पछिल्लो समय घट्दो वैदेशिक लगानीप्रति सरकार पनि गम्भीर देखिएको बताउँदै उनले उत्पादनको पकेट क्षेत्र विकास,वैदेशिक लगानी आकर्षित गर्न तथा रोजगारी सिर्जना गर्ने दिशामा सुधार होला भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले कृषिको व्यावसायिकरण र उत्पादकत्व वृद्धिले मात्र युवा पलायन रोक्न सकिने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधानको लागि योजनावद्ध रुपले काम अगाडि बढाएको पनि उनको भनाइ थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंकको ब्याजदर घटे पनि लगानीको लागि वातावरण नबनेको,सुस्ताएको बजार चलायमान हुन नसकेको र साना तथा मझौला उद्योगहरु अहिले पनि समस्यामै रहेको बताए ।

उनले राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइ र पोखराबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि दबाब दिन महासंघसँग आग्रह पनि गरे । ‘पोखरा एयरपोर्ट राष्ट्रिय गौरवको आयोजना हो र यसको संचालन नहुनु भनेको राष्ट्रकै असफलता हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ,’उनले भने । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा एयरपोर्टको दीगो संचालनको लागि आवश्यक परे दबाबमूलक कार्यक्रम गर्न तयार रहेको बताउँदै राज्यको ठूलो लगानी परेका परियोजनाहरु संचालनमा राज्य गम्भीर बन्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा व्यवसायीहरु हीरा भट्टराई, बालकृष्ण कोइराला,बुद्धि पूर्जा,पृथ्वीराज शर्मा,कृष्ण कोइराला, भरत विक, सुदीप प्रधानाङ्ग,युवकबहादुर बस्नेतलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।