
दीननाथ बराल,
पोखरा, ११ कात्तिक,
पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले शिशुकी १९ वर्षीया आमालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रीट नम्बर ८ भित्रको गल्लीमा रहेको शौचालयको च्याम्बरमा पुरुष नवजात शिशुको शव फेला परेको घटनामा शिशुकी आमा निरुता नेपालीलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

यही कात्तिक ३ गते साँझ करिब ७ः४० बजे शौचालय जाम भई पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो । स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थलको मुचुल्का तयार गरी शिशुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा शिशु जन्माएर छाडेको आरोपमा प्रहरीले नेपालीलाई खोजतलास गरी कात्तिक ४ गते राति करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१, लुकुन्स्वाराबाट पक्राउ गरेको हो । उनलाई चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपालीको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीसँग २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । राजनले प्रहरीलाई दिएको जानकारीअनुसार २०८२ साल माघमा श्रीमती गर्भवती भएको थाहा पाएपछि उनीहरूबीच भेटघाट हुन सकेको थिएन । लेकसाइडमा डेरामा एक्लै बस्दै आएकी नेपालीले फोनमा कुराकानी गर्दा आफूले बच्चा खेर फालिसकेको बताएको राजनले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।
तर, कात्तिक ३ गते लेकसाइडस्थित शौचालयको च्याम्बरमा सालनालसहित नवजात शिशुको शव फेला परेपछि घटनाले नयाँ मोड लिएको हो । त्यसपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान तीव्र पारेको थियो । पक्राउ परेकी नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट कात्तिक ४ गतेदेखि लागू हुने गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । शिशुको मृत्यु कसरी भयो, घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान भई रहेको जनाएको छ ।





