
पोखरा, ११ कात्तिक,
बङ्गालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्नब’ चक्रवातको सम्भावित अप्रत्यक्ष प्रभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबारसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावना रहेकाले भारी वर्षा, हिमपात, बाढीपहिरो र हिमपहिरोको जोखिमबाट जोगिन प्रशासनले अनुरोध गरेको हो ।
मौसम विज्ञान विभागबाट प्राप्त मौसमी बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको हो । प्रशासनका अनुसार उक्त अवधिमा कास्की र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भई हिमपहिरोको जोखिमसमेत रहन सक्ने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रमेश घर्तीले सम्भावित प्रतिकूल मौसमका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी आउने, पहिरो जाने र सडक भासिने जोखिम हुन सक्ने भएकोलेआवश्यक सतर्कता अपनाउन आग्रह गरे ।सम्भावित भारी वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने कामका लागि नदी तथा खोला किनारमा नजान भनिएको छ ।
बाढीले बगाएर ल्याएका काठ, दाउरा तथा अन्य सामग्री सङ्कलन गर्नसमेत नदी किनारमा नजान प्रशासनले सचेत गराएको छ । त्यसैगरी, खोला किनारमा गाईवस्तु चराउन, पानी खुवाउन तथा भलिबल, फुटबल र क्रिकेटजस्ता खेल खेल्न पनि रोकथामका उपाय अपनाउन आग्रह गरिएको छ ।अभिभावकलाई बालबालिकामाथि विशेष निगरानी राख्न र उनीहरूलाई खोला, नदी तथा अन्य जोखिमयुक्त स्थानमा जान नदिन प्रशासनले अनुरोध गरेको छ ।
नदी तथा खोला किनार र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव र जलसतहमा निरन्तर निगरानी राख्न प्रशासनले आग्रह गरेको छ । पानीको सतह बढ्न थालेमा ढिलाइ नगरी सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ ।सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी चालकलाई नदी तथा खोला किनारका सडक र बगर क्षेत्रमा सवारीसाधन रोक्न वा पार्किङ नगर्न भनिएको छ । अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था आएमा सडक तथा मार्गको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।
यसैबिच, मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पदयात्रामा निस्कने तयारीमा रहेका पर्यटकलाई यात्रा स्थगित गर्न तथा यात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसैबीच, मुस्ताङको लोमन्थाङ गाउँपालिकाले पनि कोरला नाका तथा आसपासका क्षेत्रमा मौसम प्रतिकूल हुन सक्ने भन्दै सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी र पर्यटकलाई अनुरोध गरेको छ । हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटना हुने तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको हो ।
सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न प्रशासनले जारी गरेका निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । बाढीपहिरो वा अन्य विपद्को अवस्था आएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा प्रहरीको निःशुल्क आपत्कालीन नम्बर १०० तथा विपद् सूचना तथा उद्धारको टोल फ्री नम्बर १२३४ मा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ । सम्भावित प्रतिकूल मौसमका कारण जनजीवन, यातायात र पर्यटकीय गतिविधिमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई पूर्वतयारी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।





