सहारा क्लबको रक्तदान कार्यक्रम सम्पन्न, २४ यूनिट रगत संकलन

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८३ मा प्रकाशित


पोखरा,

सहारा क्लब पोखराको २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २४ यूनिट रगत संकलन भएको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो।कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका कुमारी शाही योगीले गर्नुभएको थियो।

उहाँले सहारा क्लब पोखराले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै सहारा फुटबल एकेडेमी सञ्चालन गर्नु निकै चुनौतीपूर्ण कार्य भए पनि क्लबले निरन्तरता दिँदै आएको बताउनुभयो। रक्तदान जीवनदान भएकाले यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रममा रक्तदान गरी सहभागी हुने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति क्लबले आभार व्यक्त गरेको छ। क्लबले एक थोपा रगतले पनि कसैको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरेको छ। क्लबले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित सामाजिक सेवामा सक्रिय हुन आह्वान गरेको हो।

सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, क्लबका पूर्वअध्यक्ष बिक्रम थकाली, वीरभद्र आचार्य, केशवराज बराल लगायतको उपस्थिति रहेको थियो। रक्तदान गर्ने दाताहरूलाई कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको थियो।