
पोखरा, २३ भदौ,
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रोङ क्षेत्रमा पहिरोका कारण किम्रोङ खोला थुनिएपछि तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ। मंगलबार साँझ करिब ६ः३० बजेदेखि खोलाको पानीको बहाव अवरुद्ध भएको स्थानीयबाट सूचना प्राप्त भएपछि गाउँपालिकाले किम्रोङखोला तथा मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खोला कुन स्थानमा र के कारणले थुनिएको हो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। खोला थुनिएर पानी जम्मा हुँदै गएमा कुनै पनि समयमा अवरोध फुट्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम रहेको स्थानीय प्रशासनले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी स्थलगत अवस्थाबारे बुझ्न मंगलबार साँझ वीरेठाँटीतर्फ प्रस्थान गरेका छन्। स्थानीयबाट करिब दुई घण्टादेखि खोला थुनिएको सूचना प्राप्त भएपछि आफू स्थलगत रूपमा जाँदै गरेको उनले बताए। “दुई घण्टादेखि किम्रोङ खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएको छ। त्यसैले म आफैं वीरेठाँटीतर्फ जाँदैछु,” अध्यक्ष केसीले भने, “किम्रोङखोला र मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छौं।”
किम्रोङ खोला मोदीखोलामा मिसिने भएकाले खोला थुनिएर एक्कासि बाढी आएमा वीरेठाँटी, नयाँपुललगायत कास्की र पर्वतका तल्लो तटीय बस्तीहरू प्रभावित हुन सक्ने भन्दै स्थानीयलाई सचेत गराइएको छ। यसैबीच, हाल क्षेत्रमा वर्षासमेत भइरहेको अवस्थामा खोलामा पानीको मात्रा थप बढ्न सक्ने भएकाले जोखिम थप गम्भीर बन्न सक्ने देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला किनारमा रहेका स्थानीयलाई रातको समयमा समेत विशेष सावधानी अपनाउन र सम्भव भएसम्म जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।
किम्रोङ खोलामा यसअघि पनि बाढीको घटना भएको थियो। गत असार २८ गते आएको अचानकको बाढीले उक्त क्षेत्रमा रहेको पुल बगाउनुका साथै होटललगायतका संरचनामा क्षति पुर्याएको थियो। हाल खोला थुनिएको स्थानको वास्तविक अवस्था पहिचान तथा जोखिमको मूल्याङ्कनका लागि स्थानीय तह र सम्बन्धित सुरक्षा निकायले आवश्यक पहल गरिरहेका छन्। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै किम्रोङखोला, मोदीखोला तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्क रहन, खोलाको किनारमा नजान र कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।




