
दीननाथ बराल,
पोखरा, १३ भदौ,
सामाजिक उत्तरदायित्व र खेलकुद विकासलाई सँगसँगै अघि बढाउँदै आएको सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गर्न सफल भएको छ । क्लबले हाइकिङबाट बचत भएको रकम पोखरा–१७ दोबिल्लामा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान तथा फुटबल प्रशिक्षणमा खर्च गर्ने जनाएको छ ।
गत साउन ३० गते पोखरा महानगरपालिका–९, फल्चा (महेन्द्रपुल) देखि काहुँडाँडासम्म आयोजना गरिएको एकदिने हाइकिङबाट कुल १० लाख ३६ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएको क्लबले आज (शनिबार) पोखरामा आय–व्यय सार्वजनिक गरेको हो । कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले सहारा एकेडेमीको सञ्चालनमा उक्त रकम उपयोग गरिने बताउनु भयो । “हाइकिङबाट प्राप्त बचत रकम सहारा एकेडेमीका बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान र फुटबल प्रशिक्षणमा खर्च गरिनेछ,” गुरुङले भन्नुभयो, “कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति क्लब आभारी छ ।”
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सहारा क्लब पोखराले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । क्लबका कोषाध्यक्ष लिलबहादुर थापा मगरले हाइकिङबाट बचत भएको रकममध्ये ५० हजार रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताउनुभयो । उहाँका अनुसार क्लबका पदाधिकारी, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष तथा शुभेच्छुकबाट समेत थप रकम संकलन भइरहेको छ । संकलित रकम समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने थापा मगरले जानकारी दिनुभयो । बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्लबले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को यस कठिन समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न क्लबले अपिल समेत गरेको छ ।
हाइकिङ कार्यक्रम सफल बनाउन पोखरा महानगरपालिका–९ ले २ लाख, तमु धिं यूकेले २ लाख, सहारा यूकेले १ लाख २३ हजार ९ सय ३० एन्फा कास्कीबाट ५० हजार लगायत विभिन्न संघसंस्था, एवं व्यक्तिहरुबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ । सहाराको उक्त अभियानमा सहारा यूकेका पूर्वअध्यक्ष एमबीई दिलीपकुमार गुरुङबाट २५ हजार, सदस्य एवं सहारा युकेका सल्लाहाकार चन्द्रबहादुर गुरुङले २५ हजार, क्लवका बिष्णु गुरुङले २८ हजार सहयोग गर्नु भएको थियो । सहारा यूकेका निवर्तमान अध्यक्ष कृष्णकुमार गुरुङ,, सल्लाहकार भोज गुरुङ, सहारा यू.के.का आजीवन सदस्य मनोज गुरुङ, मानार्थ सदस्य मुछेत्र गुरुङ, मनार्थ सदस्य लोकबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम), खेलकुदकर्मी नारायण गुरुङ, जयप्रकाश गुरुङ, सौन्दयकर्मी वविता केसी, बसन्त ज्ञवाली लगायतले उक्त अभियानमा सहयोग गर्नुभएको थियो ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले सहारा क्लब पोखराले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । सहारा क्लबको पुरानो भवनसहितको कार्यालयसमेत अहिले सहारा एकेडेमीमै रहेको र क्लबको नियमित आम्दानी पर्याप्त नभएको अवस्थामा एकेडेमीको सञ्चालन खर्च जुटाउनु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। अध्यक्ष थापाका अनुसार एकेडेमी सञ्चालनका लागि वार्षिक करिब ५० लाख रुपैयाँ खर्च हुने गरेको छ । “एकेडेमीमा आश्रित बालकहरूको शिक्षा, स्वास्थ्य, खानपान र फुटबल प्रशिक्षण निरन्तर सञ्चालन गर्न ठूलो रकम आवश्यक पर्छ । क्लबको नियमित आम्दानीबाट मात्रै यो खर्च व्यवस्थापन गर्न कठिन छ,” उहाँले भन्नुभयो ।





