
दीननाथ बराल,
पोखरा, असार २८,
कास्की अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने किम्रुङ खोलामा आएको बाढीले अन्नपूर्ण पदमार्गको महत्वपूर्ण झोलुङ्गे पुल नै बगाएको छ। स्याउली बजारका केही बस्तीमा पनि क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आज दिउसो कबिर ३ः३० बजे तिर आएको बर्षाद सहितको बाढीले अन्नपुर्ण क्षेत्रका धेरै वडा र पर्यटकीय क्षेत्र एवं स्थानिय बासिलाई प्रत्यक्ष असर पारेको पोखराक्लिकलाई बताए ।

पालिकाको टोली सहित सुरक्षा निकाय, जनप्रतिनिधि र घटनास्थलमा पुगेर अवस्थाको अनुगमन गरि रहेको उनले जनाए । नदी आसपासका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्र्नमा जोड दिए । आइतबार दिउँसो परेको अविरल वर्षापछि कास्कीको अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत किम्रुङ खोलामा आएको भीषण बाढी र पहिरोले अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पर्ने झोलुङ्गे पुल बगाएको अध्यक्ष केसीले जनाए । पुल बगेसँगै घान्द्रुक–छोम्रोङ हुँदै अन्नपूर्ण पदमार्गमा हिँड्ने पर्यटक तथा स्थानीयवासीको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
अध्यक्ष केसीका अनुसार किम्रुङ खोला माथिल्लो भेगबाट अत्यन्त ठाडो भूभाग हुँदै बग्ने भएकाले पहिरो, ढुंगामाटो, रुखबिरुवा र बुट्यानसहितको ठूलो भेल एकैपटक तल झर्दा बाढीको वेग असाध्यै बढेको थियो। त्यसैका कारण पुल जोगाउन नसकिएको उनले पोखराक्लिकलाई बताए। स्थानीय नवराज केसीका अनुसार पुल बगेसँगै अन्नपूर्ण पदमार्गको महत्वपूर्ण पैदल मार्ग अवरुद्ध भएको छ। बाढीको असर अन्नपूर्ण गाउँपालिका–८ को स्याउली बजारमा पनि परेको छ। गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार दिलपि गुरुङको रेष्टुरेन्ट बाढीले बगाएको छ भने जगन पुनको घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, विरेठाँटी क्षेत्रमा बाढी पिच सडकसम्म पुगेपछि खोला किनारका बस्तीमा समेत क्षति पुगेको छ।
घटनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनमा जुटेको छ।यसैबीच, लगातारको वर्षासँगै मोदी खोलाको जलसतह पनि तीव्र रूपमा बढेकाले खोला किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदी किनारमा नजान, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा अत्यावश्यक कामबाहेक आज र भोलि यात्रा नगर्न गाउँपालिकाले अनुरोध गरेको छ। मौसममा अझै सुधार नआएकाले सबैलाई सतर्क रहन अध्यक्ष केसीले आग्रह गरेका छन्।







