पौडीकर्मीद्वारा डुबुल्की संचालन

-


     पोखरा क्लिक     
     असार २८ गते २०८३ मा प्रकाशित


भक्तपुर,

पौडीलाईनै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशलता प्रदर्शन गरिसकेका पौडीकर्मीहरुको पहलमा डुबुल्की नामक पौडी पोखरी संचालनमा आएको छ । भक्तपुरको थीमी नगरपालिकाको लोकन्थलीमा एक अन्तराष्ट्रिय स्तरको पौडी पोखरी आषाढ २७ गते बाट संचालनमा आएको हो । ४२ आना जग्गामा २५ मिटर लम्बाई, १५ मिटर चौडाई र ३ फिट ५ इन्च देखि ५ फिट ५ इन्च गहिराईको ६ लेनको अन्तराष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाई र ६ मिटर चौडाईको साना बालबालिकाहरुका लागि एक गरि दुई पोखरी संचालन आएको हो ।

करिव ५ करोडको लगानीमा संचालन हुने उक्त डुबुल्की पौडी क्षेत्रमा एक स्टिम, सौना बाथ सहितको जिम पनि संचालन हुने संचालक मध्यको एक पूर्व पौडी खेलाडी एवं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष उमेश प्रधानले जानकारी गराए । प्रधानका अनुसार जिम, स्टिम र सौना तिहार लगत्तै संचालन गरिने छ । पौडी पोखरी संचालन गर्न पौडीका पूर्व प्रमुख प्रशिक्षक इश्वर कार्की अध्यक्ष रहेको डुबुल्की नामक संस्था स्थापना भएको छ । जसमा हालका प्रमुख प्रशिक्षक शंकर कार्की, पूर्व खेलाडी उमेश प्रधान, गोपाल पाण्डे, बिनोद श्रेष्ठ, शोभा सिंह लगायत पौडी संग सम्वन्धित ब्यक्तित्वहरुको सहभागिता रहेको छ ।

आफुहरु पौडी खेलाडी हुँदै पौडीको बिकास र विस्तामा दत्तचित्त भएर अधिकांश समय पौडीमा नै खर्च गर्दै आईरहेको र साना बालबालिकाहरुलाई पौडी खेलमा आकर्षित गर्दै अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष सहित पौडीमा नै लगानी गर्ने मनसायका साथ पौडी पोखरी संचानल गर्न लागिएको संचालक प्रधानले जानकारी गराए । पौडी प्रेमीहरुका लागि उचित गन्तब्य स्थल रहेको डुबुल्कीमा बालबालिकाका लागि आधारभूत पौडी प्रशिक्षण प्रदान गर्ने र पौडी खेलाडी उत्पादन गर्ने लक्ष रहेको प्रधानले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका लागि प्रशिक्षण गर्न डुबुल्की सदा खुला रहने छ । पौडी खेलको बिकास र विस्तारको नाममा ठुला कुरा गर्दै ब्यक्तिगत फाईदामा रमाउने र आफ्नो तर्फबाट सिंको नभाच्नेहरुका लागि यो एक थप्पड हो । पौडी खेलमा रमाउनेहरुका लागि बयस्कका लागि रु। २ सय ५०, बिद्यार्थीहरुका लागि २ सय र ६ बर्ष मुनिका बालबालिकाका लागि १ सय ५० को टिकट दर कायम गरिएको डुबुल्कीले जनाएको छ ।