
पोखरा, २७ असार,
श्रीपति कोइराला गुठीले यस वर्षको ‘श्रीपति समाज सेवा पुरस्कार–२०८३’ मानवसेवा आश्रम नेपाललाई प्रदान गर्ने भएको छ। श्रीपति कोइरालाको २१९औँ जन्मजयन्तीका अवसरमा आज (शनिबार) पोखरामा आयोजित पुरस्कार घोषणा कार्यक्रममा गुठीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता फणीन्द्रराज कोइरालाले मानवसेवा आश्रमको मानव सेवामा रहेको उल्लेखनीय योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए।
पुरस्कारअन्तर्गत नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, सम्मानपत्र तथा समाज सेवा पदक प्रदान गरिनेछ। पुरस्कार गुठीको आगामी वार्षिक साधारणसभाको विशेष समारोहमा हस्तान्तरण गरिने महासचिव नवराज कोइरालाले बताए। अध्यक्ष कोइरालाका अनुसार खुला आकाशमुनि सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक–मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण, पालनपोषण र पारिवारिक पुनर्मिलनमा मानवसेवा आश्रमले पु¥याएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गर्न लागिएको हो।
वि.सं.२०६९ मा मकवानपुरको हेटौंडाबाट स्थापना भएको मानवसेवा आश्रमले हाल सातै प्रदेशका २१ जिल्लामा सञ्चालित ३४ सेवा आश्रममार्फत सेवा दिँदै आएको छ। आश्रममा हाल १ हजार ६ सय ९७ जना आश्रित रहेका छन्। उनीहरूलाई सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार, मानसिक परामर्श तथा पुनर्स्थापनाका सेवासमेत उपलब्ध गराइँदै आएको छ। मानवसेवा आश्रम कास्कीकी संयोजक सम्झना बर्तौलाका अनुसार संस्थाले हालसम्म करिब १४ हजार सहयोगापेक्षी सडकआश्रितको उद्धार गरेको छ। तीमध्ये ५ हजार ८ सय ६१ जनाको पारिवारिक पुनर्मिलन भएको, १ हजार ८१ जनाको सामुदायिक पुनर्स्थापना गरिएको तथा आश्रममा आश्रय लिएकामध्ये १ हजार ७ सय ५६ जनाको निधन भएको तथ्यांक छ। संस्थाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको दीर्घकालीन अभियानसमेत सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा अध्यक्ष कोइरालाले करिब २१९ वर्षअघि पोखराको गैह्रापाटनमा जन्मिएका समाजसेवी श्रीपति कोइरालाले धर्म, शिक्षा, समाजसेवा र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान स्मरण गर्दै उहाँको समाजसेवाको परम्परालाई निरन्तरता दिन गुठीले पुरस्कार, छात्रवृत्ति तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको महासचिव कोइरालाले बताए । गुठीले राष्ट्रिय स्तरको यो पुरस्कार पहिलोपटक २०७९ सालमा माइती नेपाललाई प्रदान गरेको थियो। त्यसयता राष्ट्रिय आविष्कार केन्द्र, पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम (सर्लाही), बिन्दवासिनी धार्मिक क्षेत्र विकास समिति (पोखरा) तथा तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतलाई पनि सम्मान गरिसकेको छ। पुरस्कार घोषणा कार्यक्रममा कोइराला सेवा समाजका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइराला, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, गुठीका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।







