
पोखरा, २७
स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी ९गहना० क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा बजारमा ल्याइएको हो ।
स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो ।
यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् । आजबाट गण्डकीमा भित्रिएको यस सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले बताए । उनले सकेसम्म हरेक व्यवसायीले यस्ता प्रकारका सफ्टवेयरको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्र किशोर गौतमले समयको बचतसँगै प्रविधिमैत्री बन्न दीपअर्थको आवश्यकता रहेको बताए ।
कार्यक्रममा दीपअर्थका सीइओ देवराज घिमिरेले सफ्टवेयरमा ज्वेलरी व्यवसायका लागि आवश्यक पर्ने सम्पूर्ण डिजिटल सुविधाहरू उपलब्ध रहेको बताए । उनका अनुसार सो सफ्टवेयरभित्र व्यवसायको लेखा सम्बन्धी सबै रिपोर्टहरू सहजै तयार पार्न सकिन्छ भने ग्राहकको अर्डर व्यवस्थापन र खरिद–बिक्रीको विवरण राख्न मिल्ने सुविधा उपलब्ध छ । यस्तै दीपअर्थका म्यानेजर रोशन कडरियाले सफ्टवेयरको प्राविधिक पक्ष, उपयोगिता र यसका सुविधाहरूबारे विस्तृत जानकारी दिए ।
कडरियाका अनुसार गहना व्यवसायको सहजताका लागि यसमा तौल मापन गर्दा ग्राम र तोला दुवै एकाइमा राख्न मिल्ने विशेष व्यवस्था समावेश गरिएको छ । यसैगरी व्यवसायीले बारकोडको प्रयोग गरी सामानको स्टक र इन्भेन्ट्री चुस्त राख्न सक्नेछन् भने छिटो र छरितो भुक्तानीका लागि बारकोड बिलिङको व्यवस्थासमेत यसमा समावेश गरिएको छ । यो सफ्टवेयर प्रयोग गर्न चाहने व्यवसायीका लागि हरेक वर्ष ३० हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मको विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको गण्डकी प्रदेशका प्रतिनिधि अपिल विश्वकर्माले जानकारी दिए । उनका अनुसार वार्षिक प्याकेजबाहेक हरेक वर्ष नवीकरण शुल्क भने अतिरिक्त लाग्नेछ । व्यवसायको महत्वपूर्ण डाटा विवरण सुरक्षित रहने र यसले गोपनीयताको पूर्ण प्रत्याभूति दिने कम्पनीले जनाएको छ ।







