पोखरामा केही ठाउँमा ग्याँस अभाव, उपभोक्तालाई सास्ती; पूर्ण सिलिण्डर वितरणको माग

-


     पोखरा क्लिक     
     असार २४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २४ असार,

पोखरा सहित कास्कीका केही क्षेत्रमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा नपाउँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । विशेषगरी आधा परिमाण (७.१ केजी) ग्याँस भरेर सिलिण्डर वितरण गर्ने व्यवस्था लागू भएपछि बजारमा सिलिण्डरको संख्या बढे पनि ढुवानी, वितरण र व्यवस्थापनमा समस्या देखिएको व्यवसायीहरूको भनाइ छ ।

उपभोक्ताले भने केही पसलमा ग्याँस पाइए पनि नियमित रूपमा नदिइने, आज–भोलि भन्दै फर्काइने तथा प्राथमिकताका आधारमा वितरण गरिने गुनासो गरेका छन् । बजारमा ग्याँसको माग बढेसँगै आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्णयअनुसार उद्योगहरूले केही महिनाअघि देखि १४.२ केजीको सट्टा ७.१ केजी ग्याँस भरिएका सिलिण्डर बजारमा पठाउन थालेका थिए । सुरुमा छोटो अवधिका लागि लागू गरिएको यो व्यवस्था अझै निरन्तर रहँदा यसको प्रभाव बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।

एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष तथा ओम आर ग्याँस सप्लायर्स रामबजारका सञ्चालक नारायण दाहालले कास्कीमा समग्र रूपमा गम्भीर अभाव नभए पनि केही स्थानमा वितरणमा समस्या देखिएको पोखराक्लिकलाई बताउनु भयो । “हाल बजारमा ग्याँस अभाव हुनु नपर्ने अवस्था हो । तर ढुवानीको समस्या र केही व्यवसायीको कार्यशैलीका कारण केही ठाउँमा उपभोक्ताले दुःख पाइरहेका छन्,“ उहाँले भन्नुभयो । दाहालका अनुसार आधा सिलिण्डर वितरण सुरु भएयता बजारमा सिलिण्डरको माग करिब ५० प्रतिशतले बढेको छ । आफ्नै पसलमा दैनिक ६० देखि १३० वटा सिलिण्डर बिक्रीका लागि आउने गरेको उहाँले जनाउनु भयो ।

ग्याँस बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष नारायण पौडेलले अहिले देखिएको समस्या कृत्रिम अभाव नभई आधा सिलिण्डर नीतिका कारण ढुवानी खर्च बढ्नु र उद्योगहरूसँग पर्याप्त स्टक नहुनु रहेको बताउनु भयो । “पहिले एउटै गाडीले कम सिलिण्डरमा बढी ग्याँस पु¥याउँथ्यो। अहिले आधा ग्याँस भएकाले सिलिण्डर संख्या धेरै बोक्नुपर्छ। यसले ढुवानी खर्च झण्डै दोब्बर बनाएको छ,“ उहाँले भन्नुभयो । पोखरामा केही समय बिक्री भएका त्रिवेणी, गीता, आरती र नमस्ते लगायतका ग्याँस ब्रान्डको आपूर्ति सहज नभएकाले ती कम्पनीका सिलिण्डर भएका उपभोक्ता बढी समस्यामा परेको दाबी गर्नुभयो । व्यवसायीबीच व्यावसायिक अनुशासनको कमी हुँदा कतिपय ठाउँमा उपलब्ध ग्याँस पनि समान रूपमा वितरण हुन नसकेको उहाँको भनाइ छ ।

पोखराका केही उपभोक्ताले नियमित रूपमा ग्याँस लिने पसलमा पुग्दा “आज बेलुका आउनुस“, “भोलि आउनुस“ भन्दै फर्काइने गरेको गुनासो गरेका छन्। कतिपयले “यो सिलिण्डर अरूले पैसा तिरेर राखेको हो“ भन्दै ग्याँस नदिने गरेको उनीहरूको भनाइ छ । गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज वतौलाले भने हाल बजारमा ग्याँस अभाव नभएको दाबी गर्नुभयो । आधा सिलिण्डर वितरण सुरु भएयता कम्पनीको व्यापार नै प्रभावित भएको उहाँको भनाई छ । “पहिला मासिक करिब ४० हजार सिलिण्डर बिक्री हुन्थ्यो। अहिले करिब ५० प्रतिशतले व्यापार घटेको छ । बजारमा ग्याँस छैन भन्ने अवस्था होइन,“ उहाँले भन्नुभयो ।

यता शक्ति ग्याँस कम्पनीका सञ्चालक मेघराज पौडेलका अनुसार आधा सिलिण्डर प्रणालीपछि बजारमा सिलिण्डरको संख्या उल्लेख्य रूपमा बढेको छ । “पहिला मासिक करिब ७० हजार सिलिण्डर बजारमा जान्थ्यो। अहिले एक लाख पाँच हजारसम्म पुगेको छ । तर आधा सिलिण्डर वितरण गर्दा ढुवानी खर्च बढेको छ भने उपभोक्ताले पनि पटक–पटक ग्याँस भर्न जानुपर्ने बाध्यता भएको छ ।” उहाँले भन्नभयो । कम्पनीले पहिलेभन्दा धेरै सिलिण्डर लोड र अनलोड गर्नुपरेकाले वितरण प्रणालीमा थप दबाब परेको कम्पनीले जनाएको छ । व्यवसायीहरूका अनुसार मध्यपूर्वमा बढेको तनावका कारण ग्याँस अभाव हुने हल्ला फैलिएपछि कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिण्डर घरमै सञ्चय गर्न थालेका थिए । यसले पनि बजारमा असन्तुलन सिर्जना गरेको उनीहरूको भनाइ छ।

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति ग्याँसले आफ्नै बोटलिङ प्लान्टमार्फत ग्याँस भरेर वितरण गर्दै आएका छन् भने अन्य कम्पनीसहित करिब १७ वटा कम्पनीका ग्याँस सिलिण्डर बिक्री हुँदै आएका छन्। जाडो याममा मासिक करिब डेढ लाख र गर्मीमा करिब एक लाख ४० हजार सिलिण्डर ग्याँस खपत हुने अनुमान छ । पर्यटकीय क्षेत्र लेकसाइडमा ग्याँसको खपत सबैभन्दा बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले अब तत्काल पूर्ण परिमाण (१४.२ केजी) ग्याँस वितरण प्रणाली पुनः लागू गर्नुपर्ने माग गरेका छन् ।