गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

-


     पोखरा क्लिक     
     असार २४ गते २०८३ मा प्रकाशित


पोखरा ,

गण्डकी प्रदेश र मधेश प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबीच बुधबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो ।

अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका मधेश प्रदेश प्रमुख कर्ण र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभएको थियो । भेटमा दुई प्रदेशबीचसम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरूको अनुसरण गर्ने, अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको थियो । उहाँहरूले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र भएगरेका गतिविधिबारे अनुभव साझा गर्नुभएको थियो । प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उहाँहरूको जोड थियो ।

गण्डकी प्रदेश प्रमुख भट्टले कानुनतः सरकारका प्रतिनिधिका रूपमा आ–आफ्ना प्रदेशमा जिम्मेवारी वहन गरिरहेकाले संघ सरकार र प्रदेश सरकारसँगको समन्वयकर्ताका रूपमा आफूहरू रहेको बताउनुभयो । मधेश प्रहरी प्रमुख कर्णले राष्ट्रिय एकताको अभियानकै रुपमा आफू सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिनुभयो । स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।उक्त अवसरमा मधेश प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो । दुई प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्य अंकित मायाको चिनो आदानप्रदान गर्नुभएको थियो ।